
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को एकीकरणपछि नयाँ पार्टीको नाम राप्रपा (संयुक्त) राखिने भएको छ ।
सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, सबै पक्षलाई चित्त बुझ्ने सहमति र साझा संस्थाका रुपमा राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक नीतिका रुपमा पार्टीले अवलम्बन गर्नेछ । संविधानको असहमतिलाई यथावत् कायम राख्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध रहने उक्त पार्टीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादका साथै असंलग्न परराष्ट्र नीतिलाई पार्टीले आधार बनाएको छ ।
राप्रपा (प्र)का अध्यक्ष पशुपतिशम्शेर जवरा र एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टी एकताका लागि आज हस्ताक्षर गरे ।
देशको राष्ट्रियता, प्रजातन्त्र र जनहितको सिद्धान्त र अवधारणालाई संरक्षण गरी एकता प्रक्रिया अगाडि बढाउने उद्देश्यसाथ चावहिलस्थित केन्द्रीय कार्यालयमा दुवै नेताले आज हस्ताक्षर गरेका हुन् ।
दुई पार्टीबीच शुक्रबार एकता घोषणा गरिने र एक महीनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर आन्तरिम विधान निर्माण गरिनेछ । करीब एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गरिनेछ ।
महाधिवेशन नहुन्जेलसम्म दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व प्रणालीअन्तर्गत पार्टी सञ्चालन गरिनेछ । पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय र पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुनेछ ।