
काठमाडौँ–वसन्तपुरकी कुमारीलाई राज्यका तर्फबाट चढाइएको सुनको बेरुवा औँठी कमसल रहेको पाइएको छ ।
काठमाडौँको इन्द्रजात्रामा कुमारीलाई राज्यका तर्फबाट एकतोला सुनको बेरुवा औँठी चढाउने प्रचलन छ, ।
आजको गोरखापत्र दैनिक लेख्छ–हनुमानढोका दरवारस्थित तलेजुका मूल पुजारी उद्धव कर्माचार्यका अनुसार, गहना जाँचकीद्वारा परीक्षण गर्दा १९ वटा सुनको बेरुवा औँठी कमसल पाइएका छन् । यी औँठीमा ५० प्रतिशत सुनको मात्रा नै छैन ।
गुठी संस्थान स्थापना भएयता संस्थानले यो औंठी उपलब्ध गराउने गरेको छ । गुठी संस्थानका उपप्रशासक जयप्रसाद रेग्मीका अनुसार, कमसल पाइएका औँठी राणाकालमा नै कुमारीलाई चढाइएको हो । चढाइएको औँठीको लगत अभिलेख नै कमसल रहेको पाइएको दावी उहाँको छ ।
राणाकालमा गुठी जाँच, गुठी वन्दोवस्त, गुठी गोश्वारा र गुठी पहाड बन्दोवस्त अड्डा थिए । पछि तिनै अड्डालाई मिलाएर गुठी संस्थान खडा भएको हो । गुठी संस्थान स्थापना हनुअगावै यी अड्डाबाट काम हुँदै आएको र त्यतिबेलैका सुनको औँठी कमसल भएको दावी उपप्रशासक रेग्मीको छ । उनका अनुसार, गुठी संस्थान स्थापना भएयता २०२१ सालदेखि नेपाल राष्ट्र बैङ्कबाटै खरिद गरिएको सुन दिने गरिएको छ ।
मूल पुजारी कर्माचार्यका अनुसार, कुमारीको अहिले एकसय चानचुन औँठी छन् । विसं १८१८ देखि कुमारी रथयात्रा सञ्चालन भएयता गणनाका हिसाबले निकै बेरुवा औँठी हुनुपर्नेमा १९ वटा कमसलसहित एकसय वटामात्र गहना यहाँ रहेको छ । कुमारी रथयात्रा चलेको २५७ वर्ष पुगे पनि औँठी भने कम पाइको छ । रथयात्रा चलाइएको पाँचवर्षपछि वसन्तपुरमा कुमारी रहने घर बनेको इतिहास छ । यो यात्रा काठमाडौँका अन्तिम मल्लराजा जयप्रकाश मल्लले चलाएका थिए ।