रुकुम पश्चिम - तलीगाउँले केटी माग्न माथिगाउँ उक्लिए । कुरो मिल्यो । १५ दिनको तयारीपछि मंगलबार विवाह भयो । तलबाट जन्ती माथि आए । नाचगान गरे तर बेहुला–बेहुली दुवै केटी थिए ।
आजको कान्तिपुर दैनिकमा हरि गौतमले लेखेका छन्–मुसीकोट नगरपालिका–७ साँखका स्थानीयको यो शताब्दीयौंको परम्परा हो । हरेक वर्ष माघ १५ मा यस्तो बिहे भएकै हुन्छ । माथिगाउँ र तलीगाउँले दुवै मिलेर परम्परा धान्छन् । बेहुला–बेहुली छनोट हरेक वर्ष नदोहोरिने गरी आलोपालो गरिन्छ । माघ १ देखि १५ सम्म चल्ने परम्परामा ‘कन्या’ हरूको विशेष भूमिका रहन्छ जसलाई ‘पापिनी’ भनिन्छ ।
दुवै गाउँबाट १५–१५ गरी ३० जना पापिनी छानिन्छन् । पापिनीकै अगुवाइमा सिँगो गाउँ जन्ती र लोकन्ती बन्छ ।
तलीगाउँकी १५ वर्षीया पिंकी मगर यस वर्ष पनि ‘पापिनी अगुवा’ बनिन् । बेहुली माग्नेदेखि सम्पूर्ण जिम्मेवारी पिंकी र उनैका साथी पापिनीहरूले लिए । बेहुली घरतर्फको जिम्मा माथिगाउँकी २० वर्षीया तुलसा घर्तीले लिइन् । उनैले बेहुली अन्माइन् ।
साँखमा बस्ती सुरु भएदेखिकै परम्परा मानिन्छ यो । यसरी बिहे र नाचगान नगरे गाउँमा महामारी निम्तिने किंवदन्ती छ ।