बारा – बाराको जितपुर-सिमरा उपमहानगरपालिकामा कवाडी कर संकलन गर्दै आएको ठेकेदारले उद्योगमा उत्पादित वस्तुमा समेत कवाडी कर लिँदै आएको पाइएको छ ।
उप-महानगरपालिकाको कवाडी कर संकलनको ठेक्का पाएको श्याम कमर्सियल ट्रेडर्सले उद्योगमा उत्पादित वस्तुमा समेत कवाडी कर असुल्दै आएको हो ।
वीरगन्ज पथलैया औद्योगिक करिडोरमा सञ्चालनमा रहेको नेपाल शालिमार मेटल्स प्रालिले उत्पादन गरेको वस्तुमा ठेकेदारले कवाडी कर लिँदै आएको हो ।
ठेकेदारले उप-महानगरपालिकाको निर्देशन विपरीत पटक-पटक कवाडी कर लिएको शालिमार ग्रुपका अध्यक्ष अशोक वैद्यले जानकारी दिए ।
ठेकेदारले कवाडी कर संकलनका लागि ठेक्का लिएपनि आफ्नो उद्योगबाट उत्पादन भएका विभिन्न वस्तुमा कवाडी कर लिएको वैद्यको गुनासो थियो ।
गत माघ १३ र १४ गते ठेकेदारले १८ हजार रुपैयाँ कवाडी कर लिएको उद्योगीले जानकारी दिएका छन् ।
३ हजार २ सय ६९ केजीको कप्पर सिट एन्ड सर्कल काठमाडौं ढुवानीका लागि पठाउँदा ठेकेदारले १८ हजार ४ सय ९६ रुपैयाँ कवाडी कर लिएको वैद्यले बताए ।
उप-महानगरपालिकाले तयारी वस्तुमा कवाडी कर नलिन भन्दै ठेकेदार श्याम कमर्सियललाई पत्र समेत काटेको तर उक्त पत्रको बेवास्ता गरेको उद्योगीले बताएका छन् ।

गत माघ २ मा त्यसरी पत्र काटिए पनि बिहीवार समेत ठेकेदारले कवाडी कर लिएको गुनासो उद्योगीहरूले गरेका छन् ।

यसअघि उप-महानगरपालिकाले चालू आर्थिक वर्षका लागि नगरक्षेत्र भित्रबाट निकासी एवं बिक्री हुने कवाडी करको ठेक्का लगाएको थियो ।

