१५ असार २०८३, सोमबार

राष्ट्रिय सतर्कता केन्द्रले भन्यो- सरकारी औषधि बिक्रीमा लाखौंको भ्रष्टाचार

राष्ट्रिय सतर्कता केन्द्रले भन्यो- सरकारी औषधि बिक्रीमा लाखौंको भ्रष्टाचार

काठमाडौं – सर्वसाधारणलाई सहज र सुलभ रुपमा औषधि उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमा औषधि बिक्रीमा भ्रष्टाचार भएको छ ।

राष्ट्रिय सर्तकता केन्द्रले गरेको अध्ययनबाट साझा स्वास्थ सेवा सहकारी संस्थामा भ्रष्टाचार भएको पाइएको हो ।

साझा स्वास्थ्य सेवा सहकारीका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीले औषधि बिक्री, विभिन्न समयमा लिइएको पेश्की लगायतको रकममा भ्रष्टाचार भएको सर्तकता केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०५३/०५४ देखिको पेश्की विवरण अनुसार विभिन्न व्यक्तिले विभिन्न मितिमा लिएको पेश्की १ करोड ८ लाख ३८ हजार २ सय ७३ रुपैयाँको फर्छर्यौट गराएको छैन । उक्त रकम फर्छ्यौट नगर्ने तथा नगराउने कर्मचारीलाई  कानून बमोजिम कारवाही गर्नुपर्ने सतर्कता केन्द्रले औंल्याएको छ ।

साझा सहकारी स्वास्थ्य सेवाको महाराजगञ्जको औषधि बिक्री कक्षमा मात्रै १३ लाख रुपैयाँ भ्रष्टाचार भएको केन्द्रको ठहर छ । केन्द्रका अनुसार महाराजगञ्ज औषधि बिक्री कक्षका तत्कालीन इन्चार्ज निरप्रसाद काफ्लेले १३ लाख २ हजार ५४ रुपैयाँ ७४ पैसा भ्रष्टाचार गरेका छन् ।

‘महाराजगञ्ज औषधि बिक्री कक्षको मिति २०७२ मंसिर १८ गतेदेखि २०७४ असार ८ गतेसम्मको आन्तरिक लेखा परीक्षकले दिएको प्रतिवेदनका साथ प्राप्त कागजात अध्ययन गर्दा तत्कालीन कार्यालय इन्चार्ज निरप्रसाद काफ्ले रहेको उक्त काउन्टरमा ८१ लाख ६२ हजार ४४ रुपैयाँ स्टक हुनुपर्नेमा मिति २०७४ असार ८ गतेमा ६८ लाख ५९ हजार ४ सय ८९ रुपैयाँ ३० पैसा मात्रै रहेकाले १३ लाख २ हजार ५ सय ५४ रुपैयाँ ७४ पैसा बराबरको स्टक घटी देखिएको सम्बन्धमा भ्रष्टाचार र अनियमितता नगरेको भन्न सकिने अवस्था नरहेको हुँदा सो विषयमा थप छानबिन हुनुपर्ने देखिन्छ,’ सतर्कता केन्द्रको प्रतिवेदनमा भनिएको छ ।

२०७४ जेठ २३ गतेदेखि असार ७ गतेसम्म बिक्री भएको औषधिको रकम ५ लाख १८ हजार रुपैयाँ बैंकमा ढिला दाखिला भएकाले तत्कालीन इन्चार्ज काफ्लेलाई कानून बमोजिम कारवाही गर्नुपर्ने समेत सतर्कता केन्द्रको प्रतिवेदनमा औंल्याइएको छ ।

प्रहरी अस्पताल महाराजगञ्जमा औषधि बिक्री वापतको रकममा भ्रष्टाचार भएको र तत्कालीन काउन्टर इन्चार्ज आषुतोष अधिकारीले २ लाख ४० हजार रुपैयाँ अनियमितता गरेको हुनसक्ने भन्दै थप छानविन गर्नुपर्ने आवश्यकता रहेको केन्द्रले औंल्याएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रकम गत जेठमा परेको उजुरीको आधारमा अनुसन्धान गरेको थियो । उजुरीका आधारमा नमूना छनौटको रुपमा २ वटा मात्रै बिक्री कक्षमा अनुगमन गर्दा भ्रष्टाचार भएको पाइएकाले अन्य बिक्री कक्षमा समेत सोही अनुसार कैफियत रहेको हुनसक्ने सम्भावना रहेको केन्द्रको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सर्तकता केन्द्रले सहकारीमा भ्रष्टाचार भएको भन्दै आवश्यक छानबिन गरी  कारवाही गर्न सम्बन्धी निकायलाइ सिफारिस गरिएको जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्