
काठमाडौं- प्रदीप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को प्रदर्शन मिति तय गरिएको छ ।
यो चलचित्र चैत २२ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको हो ।
चलचित्र ‘लिलीबिली’बाट लोकप्रिय बनेका जोडी प्रदीप र जसिता अभिनित ‘लभ स्टेशन’को एउटा गीत भियतनामको विभिन्न सुन्दर स्थानमा छायाँकन गरेर युनिट नेपाल फर्किएको छ । नेपाल आए लगत्तै निर्माण यूनिटले चलचित्रको रिलिज डेट घोषणा गरेको हो ।

चलचित्रको प्रमिल गीत ‘घाम जुन नै चाहिँदैन...’ को छायाँकन भियतनामको विभिन्न सुन्दर स्थानमा गरिएको चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी दिए ।
यो गीतमा अभिनेता प्रदीप र अभिनेत्री जसिताले अभिनय गरेका छन् । यो गीतको भिडियो आगामी भ्यालेन्टाईन डेको अवसर पारेर फागुन २ गते रिलिज गरिने निर्माण यूनिटले जनाएको छ ।
चलचित्रका प्रस्तुतकर्ता एवम् वितरक गोबिन्द शाहीले चैत २२ गते चलचित्र रिलिज हुने बताए । उनले भने, –‘मैले वितरण गरेको चलचित्र ‘क्याप्टेन’ फागुन १७, ‘साइँली’ चैत १५ र ‘ए मेरो हजुर ३’ चैत २९ गते रिलिज गरिने भएपछि यी चलचित्रको प्रदर्शन व्यवस्थित गर्न ‘लभ स्टेशन’लाई चैत २२ गते रिलिज गर्ने निर्णय गरिएको हो ।’
चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । निर्देशक घिमिरेका अनुसार ‘लभ स्टेशन’ सांगीतिक प्रेमकथामा आधारित पारिवारिक चलचित्र हो । चलचित्रभित्र ‘लभ स्टेशन’ एक विशेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् ।
चलचित्रलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।
आलोक शुक्लाको छायाँकन रहेको चलचित्रमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।