
चितवन –नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशलाई ऋणको भारी बोकाएर रेल ल्याउने आश्वासन नबाँड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
विदेशी ऋणले श्रीलंकाले बन्दरगाह गुमाएको उदाहरण दिँदै उनले नेपालको रेलवेमा चीनको झण्डा फहराउने सपना नदेख्न चेतावनी दिए ।
नेपाली कांग्रेसले चितवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले देश विकासको नाममा विदशी ऋणको भारी बोक्न नेपाली जनता तयार नभएको बताएका हुन् । धुर्मस–सुन्तलीले रंगशाला बनाउन सक्ने सरकारले बूढीगण्डकी बनाउन नसक्ने भन्दै उनले प्रधानमन्त्रीको क्षमतामाथि प्रश्न गरे ।
‘खर्बौं रुपैयाँको ऋण लिएर श्रीलंकाले हम्बनटोटामा बन्दरगाह बनायो, चीनको ऋण तिर्न नसकिने भनेर हात उठाएपछि बन्दगाहमा चाइनाको झण्डा फहराइएको छ,’ प्रवक्ता शर्माले भने, ‘होशियार देश बनाउने नाममा ऋणको भारी बोकाउन पाइँदैन ।’
भारत, चीन वा अमेरिका जसले दिएपनि अनुदान लिन सकिने भएपनि खर्बौं रुपैयाँ ऋण लिन नसकिने बताए ।
पाकिस्तानमा इमरान खानले कराचीदेखि पेशावर रेलको सम्झौतामा ऋणको आकार घटाएको तथा मलेसियामा महाथीर मोहम्मदले चीनले दिन लागेको पूर्वी तटीय रेल नाइन ऋण रद्दलाई गरेको उदाहरण दिँदै प्रवक्ता शर्माले ऋणको भारी बोकेर रेल नचाहिने बताए ।
‘सबै सतर्क बनौं, अनुदानलाई स्वागत गरौं, आफ्नो लगानी क्षमता बढाएर रेल बनाऔं तर, नेपालको रेल्वे लाइनमा चीनको झण्डा फहराएको रेल हेर्न नेपाली जनता तयार छैनन्,’ उनले भने ।
लगानीका नाममा बूढीगण्डकी आयोजनामा जस्तै रकम उठाएर बेइमानी नगर्न सरकारलाई उनले खबरादी गरे ।
उनले देशमा कम्युनिष्ट पार्टीको अधिनायकवादको झल्को देखिन लागेको भन्दै त्यो कांग्रेसका लागि स्वीकार्य नहुने बताए ।
‘कालो रंगको या रातो रंगको अधिनायकवादले मुलुकलाई हित गर्दैन,’ उनले भने । सरकारका पछिल्ला निर्णयको विरोधमा कांग्रेसले सोमवार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ ।