२३ जेठ २०८३, शनिबार

सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान छ : प्रधानमन्त्री ओली

सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको बताउनुभएको छ । 

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ ।” 

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य राखेर अघि बढेको स्पष्ट पार्दै उहाँले यस यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको बताउनुभएको छ । प्रधानमन्त्रीले भन्नुभएको छ, “हाम्रा सांस्कृतिक पर्व, वेशभूषामार्फत पनि समृद्धिको अभियानमा टेवा पु¥याउन सकिन्छ । यस्ता सम्पदालाई पर्यटक आकर्षण गर्ने माध्यमका रुपमा समेत विकास गर्न सकियो भने हाम्रो संस्कृति पनि जीवित रहन्छ । यस्ता सम्पदाको अवलोकनका लागि स्थानीयस्तरमा पुग्ने पर्यटकमार्फत आयआर्जन गर्न पनि सकिन्छ ।”

प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकाना व्यक्त गर्नुभएको छ । 

ल्होसार शुभकामना – सभामुख 
सभामुख कृष्णबहादुर महराले सोनाम ल्होसार पर्वले नेपाली–नेपालीबीच आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र भ्रातृत्वको विकास गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले नेपालका विविध सांस्कृतिक सम्पदा, चाडपर्व र संस्कृतिले नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । उहाँले सन्देशमा हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी भएको उल्लेख गर्दै यही विविधताले नै विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताउनुभएको छ । 

सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस्ः देउवा 
यसै उपलक्ष्यमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ‘सोनाम ल्होहार’ का उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज विज्ञप्तिमार्फत विविधताले भरिएको नेपाली समाजमा गर्व गर्नलायक धार्मिक–सांस्कृतिक रीतिरिवाज र परम्परामध्ये सोनाम ल्होहारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गर्नुभएको छ । 

यस पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको विज्ञप्तिमा उल्लेख छ । सभापति देउवाले यस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्