२५ जेठ २०८३, सोमबार

टी–२० जितेर आएका क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय

टी–२० जितेर आएका क्रिकेट खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय

काठमाडौं – युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले छिट्टै नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलवार गरेको साक्षात्कार कार्यक्रममा मन्त्री विश्वकर्माले आईसीसीले दिएको मार्गचित्रअनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको बताए ।

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर देखिएको क्यान विवादले उग्ररूप लिएपछि आईसीसीले २०७३ बैशाखमा क्यानलाई निलम्बन गरेको थियो । आईसीसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै मन्त्री विश्वकर्माले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्दा हालेकाले निलम्बन फुकुवा गर्न ढिलाइ भएको बताए ।

सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्दा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब प्रक्रियागत ढंगले क्यानमाथिको निलम्बन फुकुवा हुने मन्त्री विश्वकर्माको भनाइ थियो । 

निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । आईसीसीको निलम्बनमा पर्नुअघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी ३ श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरू गरेको थियो । तर निलम्बनमा परेसँगै क्यानले खेलाडीको तलबसमेत रोकेको छ । 

‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३५ हजार रुपैयाँ, ‘बी’ श्रेणीका खेलाडीले मासिक २५ हजार रुपैयाँ र ‘सी’ श्रेणीका खेलाडीले मासिक १५ हजार रुपैयाँका दरले पछिल्लो २ वर्षको तलब पाएका छैनन् । 

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले यूएई विरुद्धको टी–२० र १ दिवसीय शृंखला जितेर आएका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको पनि मन्त्री विश्वकर्माले सो अवसरमा जानकारी दिए ।

खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले खेलाडीलाई खेलेर भविष्य सुनिश्चित गर्नसक्ने अवस्थामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्