काठमाडौं – संगठनात्मक एकताको प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको नेकपाको कार्यदलले काम गर्न नसकेको भन्दै सचिवालयले आफैं रिपोर्ट लिएर गृहकार्य गर्ने भएपछि कार्यदलभित्रै असन्तुष्टि चुलिएको छ।
कार्यदल सदस्यहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, लेखराज भट्ट र वेदुराम भुषालले बुधबार संयोजक रामबहादुर थापालाई भेटी सचिवालयको निर्णयमा असन्तुष्टि जनाएका हुन्।
स्थायी समितिले बनाएको कार्यदल निष्प्रभावी बनाई सचिवालयले आफैं अधिकार लिन विधानतः उचित नहुने भन्दै कार्यदलमा नै एकीकरण प्रस्तावमा छलफल गराउन उनीहरूले माग गरेका छन्।
सोमबार नेकपा सचिवालय बैठकले प्रस्ताव तयार पार्न कार्यदलले विलम्ब गरेको र काम गर्न नसकेको भन्दै अहिलेसम्म भए गरेका कामको प्रतिवेदन आफैंले बुझेर प्रस्ताव स्थायी समितिमा लैजाने निर्णय गरेको थियो।सोहीअनुसार मंगलबार नै प्रतिवेदन बुझाउन सचिवालयले कार्यदललाई निर्देशन दिएको थियो। तर कार्यदलले सचिवालयलाई अहिलेसम्म प्रतिवेदन बुझाएको छैन। अन्नपूर्ण पोस्ट दैनिकमा याे खबर छ ।