३१ जेठ २०८३, आइतबार

राजधानीमा घर हुने नेकपा सांसदले घरभाडा नलिने

माघ २४, २०७५
राजधानीमा घर हुने नेकपा सांसदले घरभाडा नलिने

बुटवल – प्रदेश सभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् ।

प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेको थियो ।

सोही निर्णय अनुसार नेताहरू आफूले लिँदै आएको घरभाडा माघ महिनादेखि लागू हुने गरी नलिने निर्णय भएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । सांसदले घरभाडा स्वरूप प्रतिमहिना १५ हजार रूपैयाँ बुझ्दै आएका थिए ।

भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, डा. कृष्ण न्यौपाने, कमला विकले हस्ताक्षर गरी प्रदेशसभा सचिवालयमा जानकारी गराएका छन् । तर घर नहुने सांसदले भने भाडा लिनेछन् । 

जिल्लाबाट प्रतिनिधित्व गर्ने थानकुमारी थापा, विमला पन्थी, दीपा विक, सुनिता थटेर लगायतका सांसद भाडामा बस्दै आएका छन् । संघीय संसदमा पनि घरभाडा विषय उठेपछि केही सांसदले बुझ्दै आएको घरभाडा फिर्ता गरेका थिए ।

यसअघि १ वर्षसम्म बुझ्दै आएको रकमलाई पनि संकलन गरी कोषका रूपमा राख्न सकिने ढकालले बताए । भाडाको विषयमा कांग्रेस सांसदले कुनै निर्णय गरेका छैनन् । ८७ सदस्यीय प्रदेशसभा रूपन्देहीबाट १ जना मन्त्रीसहित १८ सांसदले प्रतिनिधित्व गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्