
काठमाडौं — भेनेजुएलामा कडा नाकाबन्दी लगाएको वर्षौंपछि अमेरिकाले विपक्षी नेता हुआन गुआइडोलाई मान्यता दिने सैन्य अधिकारीमाथिको आर्थिक पासो खुकुलो पार्ने अफर दिएको छ ।
राष्ट्रपति निकोलस मडुरो र उनका चम्चाहरूले आफ्नो हितका लागि भेनेजुएलाको सम्पत्ति लुटिरहेको आरोप लगाउँदै अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उक्त देशका अधिकारीहरूलाई मडुरोको साथ छोड्नका लागि आग्रह गरेका छन् ।
‘लोकतन्त्रको पक्षमा उभिने तथा राष्ट्रपति हुआन गुआइडोको संवैधानिक सरकारलाई मान्यता दिने भेनेजुएलाका वरिष्ठ सैन्य अधिकारीका लागि अमेरिकाले नाकाबन्दी खुकुलो बनाउनेछ । त्यसो नगरेमा अन्तर्राष्ट्रिय वित्तीय वृत्त पूरै बन्द गरिनेछ । सही छनोट गर्नुहोस्,’ बोल्टनले ट्विटरमा लेखे ।
बोल्टनको यो आह्वानलाई सिनेटर मार्को रुबियोले तत्कालै समर्थन गरे । त्यसपछि परराष्ट्रमन्त्री माइक मपम्पिओले मडुरोको आदेशमा भेनेजुएलाको सेनाले ट्रक तथा शिपिङ ट्यांकरबाट सहायता रोकेको आरोप लगाए ।
आरटीबाट