
काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको काम छाडेर भागेको इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता सरकारले रद्द गरेको छ ।
बुधवारदेखि सिंगापुरमा जारी वार्ताबाट समेत सिएमसी काममा नफर्ने भएपछि सिएमसीसँगको सम्झौता मेलम्ची आयोजनाले रद्द गरेको हो ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सुर्यराज कंडेलद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सिएमसीसँगको सम्झौता रद्द गरिएको उल्लेख गरिएको छ ।
अबको कार्य अघि बढाउन विकल्पसहित नेपाल सरकारसामु प्रस्ताव गरिने र सरकारले गरेको निर्णय अनुसार काम अघि बढाउने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि गत पुस पहिलो साता मेलम्चीको काम सम्पन्न हुन लागेको भनिएको अवस्थामा सिएमसीका प्रतिनिधिले अचानक काम छाडेर भाग्न खोजेका थिए ।
नेपाल प्रहरीले पक्राउ गरेर खानेपानी मन्त्रालयको जिम्मा लगाएको थियो । त्यसपछि नयाँ वर्ष र क्रिसमस मनाउने र छिट्टै काममा फर्कने भन्दै इटाली गएको थियो ।
यसअघि सिएमसीसँग मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायतका निर्माण कार्य गनर्का लागि २०७० असार मसान्तमा ठेक्का सम्झौता गरिएको थियो ।
मेलम्ची विकास समिति र सीएमसीबीच ७ अर्ब ७२ करोड, ३४ लाख, ७१ हजार ३४२ रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।
बोलेरो दुर्घटनामा ५ को मृत्यु
फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् ।
दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा चालक फिक्कल गाउँपालीका निवासी मानबहादुर सुनुवार र ३४ वर्षीय दीपककुमार सुनुवार सख्त घाइते दिएका छन् ।
थप उपचाकार लागि सख्त घाइते ६६ वर्षीया माया विश्वकर्मा र ३८ वर्षीय दीपक श्रेष्ठलाई पनि थप उपचारका लागि धुलिखेल पठाइएको छ ।
अन्य घाइते सबैको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फिक्कलको महादेवडाँडा भन्ने स्थानबाट सिन्धुलीतर्फ आउँदै गरेको वा १५ च ९४२२ नम्बरको डबलक्याप बोलेरोे दुर्घटना भएको हो । बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालेरो सडकबाट २०० मिटर तल खसेको थियो ।
आइतबारबाट मौसममा सुधार
काठमाडौँ उपत्यकासहित मुलुकभर बदली भई बिहीबार बिहानबाट वर्षा भएको छ । आइतबारबाट मौसममा सुधार आउने जनाइएको छ
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले आइतबारबाट देशको पहाडी भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा सामान्यतः सफा रहने सम्भावना रहेको बताए ।
पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरबाट आएको दक्षिण पश्चिमी वायुको प्रभावले मौसम बदली भई बिहीबारबाट मुलुकभरि वर्षा र हिमाली भेगमा हिमपात भएको हो ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात र उच्च पहाडी तथा हिमाली भेगको एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।
यस्तै, शुक्रबार राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, पूर्वी भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना हुनुका साथै देशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
त्यसैगरी, शनिवार दिउँसो देशको पश्चिमी भूभागमा आंशिक बदली हुनुका साथै मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
शनिवार राति देशको मध्य र पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली हुनुका साथै देशको पश्चिमी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश मन्त्रिपरिषद् बैठक
प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहीबार अपराह्न मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले मन्त्री तथा राजनीतिक नियुक्ति भएका पदाधिकारीले आफ्नो पदीय आचरण र मर्यादा पालना गर्नुपर्ने, प्रदेशको १३ वटै जिल्लामा मुख्यमन्त्री विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, प्रदेशमा आइपर्ने विपद्लाई दृष्टिगत गरी विपद् व्यवस्थापन तथा विपद् कोष सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाउनेसम्बन्धी निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।
आयोगका अध्यक्ष र सदस्यद्वारा राजीनामा
सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासी खनालले राजीनामा दिएका छन् ।
आयोगका सदस्य मञ्चला झाका अनुसार अध्यक्ष गुरुङ र सदस्य खनालले आयोगको सचिवालयमा यही माघ २७ गतेदेखि लागु हुने गरी बिहीबार राजीनामा दिएका हुन् ।
आयोगको म्याद पनि यही माघ २७ गतेदेखि सकिँदैछ । आयोगका पदाधिकारीले चार वर्षसम्म पीडितको पीडालाई महसुस गरेर काम गर्न नसकेको आलोचना भइरहेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनको दफा ७ ले प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । तर अध्यक्ष र सदस्यले आयोगकै सचिवालयमा राजीनामा बुझाएका छन् ।
८४८ उपसचिवको समायोजन
सरकारले ८४८ उपसचिवको समायोजन गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८४८ उपसचिवको समायोजन गरिएको बताए । उनका अनुसार सङ्घमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको समायोजन भएको छ ।
समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग गरेको इमेल र पासवर्डका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले समायोजनको पत्र बुझेका छन् । करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हँुदैछन् ।
सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो ।
फिफा वरियतामा नेपाल यथावत
विश्व फुटबल महासङ्घ फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल १६१ आँंै स्थानमा यथावत नै रहेको छ । नेपाल अघिल्लो महीनामा पनि सोही स्थानमै थियो ।
वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ । उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु पर्न समेत सकेका छैनन् । वरियतामा भारत छ स्थान तल झर्दै १०३ औँ स्थानमा पुगेको छ । यसअघि भारत ९७ औँ स्थानमा थियो । त्यस्तै माल्दिभ्स १५२ औँ स्थानमा रहँदा भुटान १८६ औँ, बङ्गलादेश १९२ औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औँ स्थानमा छन् ।
केही दिनअघि मात्रै जापानलाई पराजित गर्दै एशिया कपको उपाधि जितेको कतार वरियतामा माथि उक्लिएको छ । यसअघि ९३ औँ स्थानमा रहेको कतारले कतारले ३८ स्थान सुधार गर्दै विश्व वरियतामा ५५ औँ स्थानमा उक्लिएको छ ।
विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम शीर्ष स्थानमा कायमै छ । त्यस्तै विश्वविजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो, इग्ल्यान्ड पाँचौ, पोर्चुगल छैटौँ, उरुग्वे सातौँ, स्वीट्जरल्यान्ड आठौँ, स्पेन नवौँ र १० औँ स्थानमा डेनमार्क रहेका छन् । अर्जेन्टिना भने ११ औँ स्थानमा छ ।