०६ असार २०८३, शनिबार

रेडियो नेपालप्रति मन्त्रीको धारणा : 'ओन्ली वान' छ, नम्बर वान बन्नुहोस्

माघ २५, २०७५
रेडियो नेपालप्रति मन्त्रीको धारणा : 'ओन्ली वान' छ, नम्बर वान बन्नुहोस्

सुर्खेत- कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले रेडयो नेपाललाई 'नम्बर वान' बनाउन सुझाव दिएका छन् । वीरेन्द्रनगरमा शुक्रबारदेखि सुरु भएको तीन दिने समावेशी प्रसारण सामाग्री उत्पादन तथा प्रकाशन सम्वन्धी तालिमलाई उदघाटन गर्दै सरकारी लगानी रहेको रेडियो नेपाललाई सबैभन्दा राम्रो बनाउनुपर्नेमा जोड दिए ।

‘दुबईले ओन्ली वान सामान उत्पादन गर्ने गरेको छ ।’ उनले भने, ‘त्यस्तो सामान उत्पादन गर्न नसके उसले नम्बर वान सामान बनाउने गर्दछ र बजारमा पठाउँछ ।’ त्यहाँको उदाहरण दिदैं मन्त्री भण्डारीले राज्यको अहिलेसम्म एकओटा मात्रै रेडियो भएको बताउँदै रेडियोलाई गुणस्तरीय बनाउन भूमिका खेल्न आग्रह गरे ।

मन्त्री भण्डारीले अहिले राजनीतिक आन्दोलन सकिएको बताउँदै सञ्चार माध्यमले व्यवस्थालाई निर्विकल्प बनाउन सहयोग गर्नुपर्ने धारणा राखे । ‘रक्त स्नान गरेर संघीयता मुलुकमा आएको छ,’ उनले भने, ‘यो व्यवस्थालाई बचाइराख्न र संविधानले दिएका अधिकारहरुलाई कार्यान्वयन गर्न सञ्चार माध्यमले सहयोग पुर्याउन पर्छ । जसले गर्दा देशलाई विगतको जस्तै प्रयोगात्मक गर्ने थलोको रुपबाट माथि उठेको बनाउन सकियोस् ।’

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले विकास र समृद्धिको यात्रा शुरू भएको बताईन । ‘अब देशमा विकास र समृद्धिको हजारौं माईलको यात्रा सुरु भएको छ,’ उनले भनिन, ‘यो चुनौतीपूर्ण बाटोलाई सामना गर्न सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुन्छ । सामाजिक न्याय सहितको विकास गर्न मिडियाले निरन्तर खबरदारी गरिरहोस ।’

उनले जनप्रतिनिधि मध्ये कसैले गलत गरेको खण्डमा देशै भरकाले गल्ती गरे भन्ने खाले समाचारले नकारात्मक सूचना प्रवाह हुने बताइन् । ‘कहि कसैले गल्ती गरेको खण्डमा सबै जनप्रतिनिधिलाई नमुछ्नुस्,’ उनले भनिन, ‘त्यसरी सबैलाई मुछ्दा व्यवस्था नै भँडखालोमा पर्ने सम्भावना हुन सक्छ । यसतर्फ सचेत रहन मेरो आग्रह छ ।’

salt training

कमेन्ट गर्नुहोस्