०९ असार २०८३, मंगलबार

नलगाड जलविद्युत् आयोजनाको काम शुरू

नलगाड जलविद्युत् आयोजनाको काम शुरू

जाजरकोट – नलगाड जलविद्युत् आयोजनाको काम शुरू भएको छ । 

विस्फोटक पदार्थ प्रयोग सम्बन्धमा सेना र नलगाड जलविद्युत् आयोजनाका बीचमा सहमति (एमओयू) भएपछि ३ महिनादेखि रोकिएको काम शुरू भएको हो ।

सहमति भएसँगै आयोजनाको बाधस्थलसम्म जाने सडक निर्माणका लागि विस्फोटनका काम शुरू भएको छ । 

सेनाले सहमति बिना काम नगर्ने भन्दै विस्फोट पदार्थ प्रयोग गरेको थिएन । सेनाको अडानपछि करीब ३ महिना आयोजनाको सडक र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को ड्रिफ्ट टनेल टेस्ट गर्ने कार्य रोकिएको थियो । आयोजना र सेनाबीच सहमतिपछि नलगाड नगरपालिका–७ स्थित दल्ली र चिमिरे ओडार नजिक सडकका काम शुरू भएको छ । त्यस्तै विद्युत् उत्पादन गृहको भूमिगत सुरुङ (ड्रिफ्ट टनेल टेस्ट)मा विस्फोट गराउने काम पनि शुरू भएको छ । 

सम्झौतामा विस्फोटनमा खटिएका सेनाको बीमा, दैनिक भम्रण भत्ता, खाजा तथा खाना भत्ता, सुरक्षालगायत सेवा सुविधा आयोजनाले उपलब्ध गराउने सहमति भएको छ । सेनासँग सम्झौता नहुँदा सडक निर्माणका लागि चट्टानमा खोपिएका २ हजार ७ सय ‘होल’ विस्फोट हुन नसकेर काम रोकिएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिए ।

सम्झौतापछि अहिले तीव्ररुपमा काम अगाडि बढेको छ । ड्रिफ्ट टनेल टेस्ट कार्यमा विस्फोटन नहुँदा डीपीआर अलपत्र परेको आयोजनाका इन्जिनियर थापाले बताए । नलगाड जलविद्युत् आयोजनाको डीपीआर, पहुँचमार्ग, मुआब्जा वितरण, कन्स्ट्रक्सन पावर निर्माणलगायत कार्यमा ढिलाइ भएको थापाले बताए । कम्पनीको डीपीआरमा ढिलाइ हुँदा आयोजना नै अलपत्र पर्ने हो कि भन्ने शंका बढेको थियो । डीपीआर शुरू भएको ३२ महिनामा ६५ प्रतिशत काम मात्र पूरा हुँदा स्थानीयस्तरमा यस्तो शंका गरिएको थियो । 

३० महिनामा सम्पन्न गर्ने सर्तसहित अस्ट्रेलियाका स्मेक, अमेरिकाको एमडब्लूएच र नेपालको उदय कन्सल्ट प्रालि जेभीले डीपीआर गर्न नलगाड जलविद्युत् आयोजनासँग सम्झौता गरेका थिए । कम्पनीले ड्रिलिङ कार्य ८० प्रतिशत पूरा गरेर जलविज्ञान मापन आँकलन, भूकम्प सर्भे, पावर अटिमाइजेसन, फिल्ड सर्भेलगायत अध्ययनको काम गरिरहेको उनले बताए ।

परामर्शदाता कम्पनीले विद्युत् उत्पादन गृहमा ३ सय ४५ मिटर भूमिगत सुरुङ नमूना परीक्षणको काम गर्नुपर्नेमा अहिलेसम्म १ सय ५५ मिटर मात्र सुरुङ निर्माण भएको छ । बारेकोट गाउँपालिकाको अधेरीखोलामा रहेको बाँधस्थलमा २ सय ४० मिटर ड्रिफ्ट टनेल टेस्टको कार्य गर्नुपर्नेमा उक्त कार्य पनि शुरू हुन सकेको छैन । 

डीपीआर गर्ने समय अवधि गत मंसिरमा सकिएपछि ६ महिना थप गरी काम गरे पनि कामले गति नपाउँदा जिल्लावासी चिन्तित भएका थिए । यो आयोजनाबाट ४ सय १० मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । विज्ञका अनुसार आयोजनाबाट ६ सय मेघावाट विद्युत् उत्पादन गर्न सकिने दाबी छ । 

जाजरकोट, रुकुम र डोल्पामा निर्माण हुन लागेका विद्युत् आयोजनाको विद्युत् सवस्टेशनका लागि सरोकारवाला निकायले नलगाड नगरपालिका–७ दानीपिपलमा जग्गा अधिकरणको काम शुरू गर्ने बताएको छ । 

उत्पादन कम्पनी, ग्रेट कम्पनी, नलगाड जलविद्युत् आयोजनाका अधिकारीले दानी पिपलमा जग्गा हेरेर उपयुक्त भएको भन्दै केही दिनमा जग्गा अधिकरण गरिने इन्जिनियर पदम थापाले बताए । जग्गा अधिकरण गरेपछि ४ केभी प्रसारण लाइनका वितरण केन्द्र निर्माण हुनेछ । त्यसबाट डोल्पाको जगदुला हाइड्रोपावर, रुकुमको उत्तरगंगा, जाजरकोटको नलगाड जलविद्युत् आयोजना, भेरी ए, बी, सी र डाँडागाउँ चिसापानी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् वितरण गर्ने योजना छ ।

salt training

कमेन्ट गर्नुहोस्