
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् ।
मंगलवार मन्त्रालयमा परीक्षाको तयारीका विषयमा विभिन्न सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाइ, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका सन्दर्भमा चासो व्यक्त गरेका थिए ।
परीक्षा भयरहित र व्यवस्थित हुनुपर्ने बताउँदै मन्त्री पोखररेलले प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विशेष ध्यान दिनुपर्ने बताए । बैठकमा प्रश्नपत्र छपाइ कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको छ ।
यस वर्ष १ हजार ९ सय ६१ वटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । उनले यस वर्ष प्रदेशगतरुपमा अनिवार्य ६ विषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए ।
बरालले उत्तरपुस्तिका परीक्षणका लागि करीव ६२ वटा उपपरीक्षण केन्द्र कायम गर्ने पनि जानकारी दिए । एसईई परीक्षा चैत्र १० गतेदेखि शुरू हुँदैछ ।