
धनगढी - तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गतको खेलमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १३४ रन बनाएको हो ।
काठमाडौंले दुई शुरूवाती ब्याट्सम्यानलाई सस्तैमा गुमायो । ओपनर गौरव तमोर एक रन बनाएर पेभेलियन फर्के भने आउट हुनुअघि अनिलकुमार शाह सात रन बनाए । काठमाडौंको रनको गतिलाई अंकित दबासको अर्धशतकीय पारीले उकास्यो । उनले ५५ बलमा ६५ रन जोडे । त्यसक्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले १४ तथा मेहबुब आलमले १३ रनको योगदान दिए । त्यस्तै योगेन्द्रकुमार सिंहले २२ रन बनाए ।
बलिङतर्फ महेन्द्रनगरका लागि अमरसिंह रौटेलाले २ विकेट लिए भने सागर ढकाल, अविनाश बोहरा र मोहमद नाभिदले समान एक/एक विकेट हात पारे ।