
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई संसारले ध्यानपूर्वक हेरिरहेको बताएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित शहीदहरूको सम्मान कार्यक्रममा प्रचण्डले नेपालमा भएको राजनीतिक विकासक्रम देखेर संसार आश्चर्यचकित भएको बताएका हुन् ।
‘हामी नितान्त नयाँ सन्दर्भमा इतिहासको स्मरण गर्ने, शहीदहरूलाई सम्झने र उनीहरूको सपना पूरा गर्ने संकल्प गर्ने दिन हो आजको दिन,’ प्रचण्डले भने, ‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक तरिकाले सामन्तवाद र वैदेशिक हस्तक्षेपको विरोध गर्ने मदन भण्डारीलाई सम्झन्छु, सम्मान गर्छु । उहाँको सम्मानमा जेठ ३ गते पार्टी एकताको घोषणा गर्यौं । आज फागुन १ गते जनयुद्ध र विद्रोह शुरू भएको दिन हो, यो दिनलाई शहीदहरूको स्मृति र सम्झनाका रूपमा मनाउने सामुहिक निर्णय भएको छ, यो ऐतिहासिक हो ।’
प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली आफ्नो कार्यव्यस्तताका कारण कार्यक्रममा आउन नसकेको दाहालले बताए । पार्टीले कार्यक्रमकै आयोजना गरेर जनयुद्ध र जनआन्दोलनका शहीदलाई सम्झिने र देखाएको सपना पूरा गर्ने संकल्प गर्नु भनेको कम्युनिस्ट आन्दोलनका लागि ठूलो उपलब्धी रहेको प्रचण्डले बताए ।
पार्टी एकीकरण प्रक्रियामा भइरहेको ढिलाइप्रति लक्षित गर्दै प्रचण्डले अब केही दिनमा पार्टी एकता टुंग्याउने र राष्ट्रव्यापी अभियानमा लाग्ने बताए । ‘पार्टी एकतामा किन ढिलाइ भइरहेको छ भनेर आमजनता, कार्यकर्तामा संशय पैदा भएको छ, हामीले अब केही दिनमा एकताका बाँकी कामहरू पूरा गरेर राष्ट्रव्यापी अभियानमा लाग्ने छौं,’ प्रचण्डले भने ।