
विराटनगर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधवार जनयुद्ध दिवस मनाएको छ ।
नेकपा पार्टी कार्यालय विराटनगरमा कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाइएको हो ।
तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध शुरू गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर माओवादी र तत्कालीन नेकपा एमाले एक भएपछि दिवस मनाउने विषयमा नेकपा अल्मलिएको थियो ।
विराटनगरमा नेकपाले आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा १ नम्बर प्रदेश सहइन्चार्ज सावित्रीकुमार काफ्लेले नेकपालाई कम्युनिस्ट केन्द्रको रुपमा स्थापित गराउने उद्देश्य रहेको बताए ।
उनले २ पार्टी एकीकरण भएर पनि केही जिम्मेवारीका कुरामा समय लागेको स्वीकार गर्दै एकीकरण चाँडै टुंगिने बताए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विनोद ढकाल, गोपी आछामी, गुरू बराल, प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको सहभागिता थियो ।
१० वर्षे सशस्त्र जनयुद्धको स्मरणमा आयोजित कार्यक्रममा नेकपाका तल्लो तहका नेताले तत्काल जिम्मेवारी बाँडफाँडको विषय टुंग्याउन माग गरेका छन् । लामो समयसम्म पनि एकीकरण भएर पनि पार्टीले गति लिन नसकेको बताउँदै पार्टीका गतिविधि पनि सुस्ताएको बताए ।
नेकपा मोरङको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय नेतादेखि स्थानीय स्तरका कार्यकर्ता समेतको उपस्थिति थियो ।