
काठमाडौं – खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकावासीले झेल्नुपरेको खानेपानीको समस्यालाई निकै गम्भीरतापूर्वक सरकारले हल गर्न खोजिरहेको बताएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को ११ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौंवासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार निकै गम्भीर रहेको बताएका हुन् ।
उनले मेलम्ची आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार निकै गम्भीर ढंगले अघि बढिरहेको बताए ।
बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मेलम्चीले नयाँ चुनौतीसँग संघर्ष गरिरहेको छ । मेलम्चीको विषयमा केही अन्योल देखिएपनि यो सधैं रहँदैन । खानेपानीको सही व्यवस्थापन गर्न केयूकेएल प्रतिवद्ध भएर लाग्नुपर्छ । केयुकेएलको कार्य क्षमताका विषयमा आमजनताले चासोका साथ हेरिरहेका छन् ।’
केयूकेएलको भूमिका र उद्देश्य निकै महत्त्वपूर्ण रहेको बताउँदै मन्त्री मगरले संस्थाको गरिमा बचाई राख्न आग्रह गरे । उनले मन्त्रालयले केयूकेएललाई सक्षम र मजबुत बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनले केयूकेएलबाट जनताले धेरै आशा राखेको भन्दै केयूकेएललाई काकाकुल कम्पनी नबनाउन आग्रह गरे ।
मन्त्रालयका सहसचिव तेजराज भट्टले केयूकेएलको भूमिका बढ्दै गएको बताउँदै यसलाई अझै सुधार गरेर लैजानुपर्ने बताए । कार्यक्रममा मन्त्री मगरले केयूकेएलमा कार्यरत उत्कृष्ट कर्मचारी र अवकाश पाएका कर्मचारीलाई सम्मान गरेका थिए ।