
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वर्षको अवधिमा भएका उपलब्धीहरु सार्वजनिक गरेको छ । जनस्वास्थ्य ऐन, २०७५ लागू भएको र यसको नियमावलीको अन्तिम मस्यौदा तयार हुनलाई मन्त्रालयले आफ्नो एक वर्षको उपलब्धीका रुपमा लिएको छ ।
यस्तै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लागू भई र यसको नियमावलीको अन्तिम मस्यौदा तयार हुनुलाई पनि मन्त्रालयले आफ्नो उपलब्धी भनेको छ । मन्त्रालयले उपलब्धीका रुपमा हरेक वडामा कम्तीमा १ स्वास्थ्य सस्थां र हरेक स्थानिय तहमा कम्तिमा एक चिकित्सक सुनिश्चित गर्न कार्यविधि स्वीकृत भएको, सातै प्रदेशमा आयुर्वेद अस्पताल स्थापना गर्न मन्त्रिपरिषद्बाट स्वीकृत प्राप्त हुनुलाई लिएको छ ।
यसैगरी, आठ अस्पतालमा जेष्ठ नागरिक वार्ड सञ्चालन भई रहेको थप ४ अस्पतालमा सेवा विस्तार गर्ने योजनाअन्तर्गत नारायणी उपक्षेत्रिय अस्पतालमा सेवा सञ्चालन शुरु गरिएको मन्त्रालयले जनाएको छ । रूबेला रोग नियन्त्रणको प्रमाणपत्र पाउनु, खस्रेरोग निवारण हुनलाई पनि मन्त्रालयले आफ्नो उपलब्धी मानेको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई कलेजो प्रत्यारोपणको लागि स्वीकृत प्रदान, २१४ वटा भवन निर्माण, ११० जना विशेषज्ञ चिकित्सकहरुलाई पहिलो पटक विभिन्न अस्पतालमा परिचालन गर्नुलाई पनि मन्त्रालयले आफ्नो उपलब्धीका रुपमा लिएको छ ।
