११ असार २०८३, बिहीबार

नापाम बालिकाको तस्वीर र भूपीको कविता : एक समालोचनात्मक दृष्टिकोण

फागुन ४, २०७५
नापाम बालिकाको तस्वीर र भूपीको कविता : एक समालोचनात्मक दृष्टिकोण

भियतनाम युद्धको प्रखर बिम्बका रूपमा रहेको प्रसिद्ध ‘नापाम बालिका’ तस्वीरमा देखिएकी बालिका फान थी किम फुक (जो वयस्क भएपछि क्यानडामा बसेर शान्ति तथा मानवताको पक्षमा अभियान चलाइरहेकी छन्) ले यही हप्ता प्रतिष्ठित ड्रेस्डेन शान्ति पुरस्कार पाएपछि मलाई भूपी शेरचनको कविता याद आयो । 

भूपीले भियतनाम युद्धको उक्त प्रतिनिधिमूलक छविचित्र हेर्नुभएपछि उहाँमा करुणाको भावना तथा समानुभूति उद्वेलित भएको थियो । अनि उहाँले ‘हो–चि–मिन्हलाई चिठी’ नामक कविता लेख्नुभएको थियो । उक्त कविताका केही पंक्ति यसप्रकार छन् :

तिम्रो प्रत्येक गोल–गोल मंगोल अनुहार भएकी
आइमाईको बेइज्जतीमा
मैले आफ्नी पत्नी र दिदी–बहिनीहरूलाई
बाटोमा निर्वस्त्र देखेको छु 

भियतनाम युद्धका क्रममा सन् १९७२ को जुन महिनाको ८ तारिखमा ट्राङ बाङ नामक गाउँमा अमेरिकाको सहयोग प्राप्त दक्षिण भियतनामको सेनाले नापाम नामक खतरनाक बमको वर्षा गरेपछि त्यसबाट भाग्ने क्रममा लुगा डढेर फ्याँकेपछि निर्वस्त्र दौडिएकी नौ वर्षीया बालिका किम फुकको तस्वीर एसोसिएटेड प्रेसका फोटोग्राफर निक उटले खिचेका थिए । त्यो तस्वीर भियतनाम युद्धको त्रासदीलाई दर्शाउने तथा मानवीय पीडा झल्काउने सशक्त माध्यम बनेको थियो । 

त्यस तस्वीरले भूपीको कोमल कवि हृदयमा प्रभाव पार्दा उक्त कविता जन्मन पुग्यो । त्यसपछि भूपीले निर्वस्त्र बालिकाप्रतिको समानुभूति आफ्नै नेपाली दिदीबहिनीहरूमा पाउनुभयो र माथि उल्लेखित पंक्तिहरू रच्नुभयो । भूगोलको सीमा नाघेर नेपालभन्दा निकै परको भियतनामको त्रासदीलाई अनुभूत गर्दै उहाँले भियतनामको पीडाको समानुभूति कवितामा व्यक्त गर्नुभएको हो । यसले उहाँको रचनालाई विश्वव्यापी स्तरमा पुर्‍याएको अनुभूति मैले गरेको छु ।  


दोस्रो विश्वयुद्धपछि धेरै विद्वानहरूले उत्तरसाम्राज्यवादी अध्ययन (पोस्टकोलोनियल स्टडीज) शुरू गरे । त्यसका विभिन्न विधा छन् जसमध्ये एक विधाले राजनीति र साहित्यबीचको सम्बन्धलाई केलाउँछ । त्यही सम्बन्धको चर्चा गर्दै अहिले लेखकहरू कहाँसम्म पुगेका छन् भने तस्वीर, त्यस तस्वीरलाई चिनाउने शब्दहरू र त्यो तस्वीर तथा शब्दलाई व्याख्या गर्ने व्याख्यानहरूलाई राजनीतिमा कसरी व्याख्या गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण छ । 

मैले दी इन्डिपेन्डेन्ट अन्लाइनको वेबसाइटमा नापाल बालिका किम फुकलाई ड्रेस्डेन शान्ति पुरस्कार दिइएको समाचार पढें । त्यसपछि मलाई त्यस तस्वीरको महत्त्व याद आयो । उक्त तस्वीरले भियतनाम युद्धलाई नयाँ तरिकाले परिभाषित गरेको थियो, युद्धको मानवीय पाटो उजागर गरेको थियो, उक्त युद्धप्रति विश्व दृष्टिकोण पनि बदलेको थियो अनि त्यस युद्धमा संलग्न अमेरिकीहरूले पनि तस्वीर प्रकाशनपछि आफूलाई बुझ्न थालेका थिए । त्यसैले मात्र एक तस्वीरले नै युद्धलाई परिभाषित गर्छ, त्यसको नयाँ व्याख्यान दिन्छ र शक्तिलाई पनि नयाँ तरिकाले व्याख्या गरिदिन्छ । 

कथित तेस्रो विश्वले तस्वीर, शब्द र व्याख्यानको यो अन्तःसम्बन्धलाई गम्भीरतापूर्वक लिएको छैन । तर कल्पना गर्नुस्, त्यतिखेरको समयमा भूपी शेरचनले यो छविचित्र देखेपछि हो चि मिन्हलाई चिट्ठी लेख्नुभयो र भियतनामी महिलाको पीडालाई नेपाली महिलाको पीडासँग जोड्नुभयो । त्यतिखेरै नेपाली साहित्यले कत्ति ठूलो फड्को मारेको रहेछ, साहित्यको कस्तो स्तर रहेछ भन्ने यही एक कविताले थाहा दिन्छ । 

कुनै देशको विकास कुन स्तरमा भइरहेको छ भन्ने कुरा त्यहाँको राजनीतिका साथसाथै साहित्यको स्तरले पनि निर्धारण गर्छ । भूपीको त्यस कवितामा निहित संवेदना, समानुभूति, शब्द चयन अनि सिमानालाई भत्काउने त्यो क्षमता सबै प्रशंसनीय छन् । 

मेरो मान्यता के छ भने परम्परागत रूपमा हामीले अनुसरण गरिरहेको पढाइको पद्धतिलाई हामीले त्याग्नुपर्छ । म स्विडेनको स्कटहोम विश्वविद्यालयमा कानून प्राध्यापन गर्छु र आफ्ना विद्यार्थीहरूलाई सधैं भन्ने गर्छु – तिमीहरू समालोचनात्मक दृष्टिकोण अपनाउने गर । जे पढ्न दिइएको छ, त्यो पढ्ने तर जहिले पनि फरक दृष्टिकोण राखेर पढ्ने गर भन्छु । 

जस्तो, नापाम बालिकाको समाचार पढ्नेबित्तिकै मलाई भूपीको कविता याद आयो । घुम्ने मेचमाथि अन्धो मान्छे नामक कविता संग्रहमा त्यो कविता परेको छ । उक्त कविता संग्रह नेपाली साहित्यको अमूल्य निधि हो । त्यत्तिको पुस्तक नेपाली भाषामा अहिलेसम्म निस्केको छैन । अब कतिजना मानिसले त्यसरी समालोचनात्मक दृष्टिकोणले हेर्छन् होला र ? 

यही कुरा पत्रकारिताको हकमा पनि लागू हुन्छ । पत्रकारिताको एउटा मान्यता के हो भने कुनै पनि कुरालाई त्यत्तिकै छोड्नुहुँदैन । कुनै पनि घटना भएको मानौं २० वर्षपछि के भयो त भनेर खोज्ने काम पत्रकारले गर्नुपर्छ । नापाम बालिकाको बारेमा दी इन्डिपेन्डेन्टले दिएको खबरले मलाई खुशी लाग्यो । तर नेपाली पत्रिकाहरूले यसबारेमा केही पनि नलेखेको देख्दा म अलिक निराश भएँ जबकि भियतनाम युद्धको त्यस घटनालाई आधार बनाएर भूपी शेरचनले त्यतिबेलै कविता रच्नुभएको थियो ।    

अनि समालोचनात्मक दृष्टिकोणको कुरा गर्दा अहिलेको विश्व परिस्थितिलाई केही विद्वानहरूले आक्रोशको युगका रूपमा परिभाषित गरेका छन् । अहिले सबै ठाउँमा आक्रोश व्याप्त छ । विपक्षीहरू सरकारप्रति आक्रोशित हुने नै भए, त्यो उनीहरूको कर्तव्य नै हो । तर सत्ताधारीहरू पनि विपक्षीप्रति आक्रोशित छन् । ट्रम्पदेखि पुटिन, मोदी र ओलीसम्म यही कुरा देख्न पाइन्छ । किन यसो भइरहेको छ त ? 

यसलाई समालोचनात्मक दृष्टिकोणले हेरिनुपर्छ भन्ने मलाई लाग्छ । विगत तीन दशकमा विज्ञान र प्रविधिको क्षेत्रमा निकै ठूलो प्रगति भएको छ । यसक्रममा इन्टरनेटले प्रविधिको क्षेत्रमा क्रान्ति नै गरेको छ । तर यसको तुलनामा सामाजिक विज्ञान अझ नागरिक विज्ञानमा अधोगति देखिएको छ । नागरिक के हो, नागरिक समाज के हो, नागरिकता के हो, राजनीति के हो – यी सबै विषयमा कसैले पनि राम्रो खोज गर्न सकेको छैन । त्यसैले प्रविधिमा फड्को र सामाजिक विज्ञानमा ह्रासले ल्याएको असन्तुलनले नै अहिलेको आक्रोश निम्त्याएको हो भन्ने मलाई लाग्छ । 

नेपालको सन्दर्भमा यस आक्रोशलाई मैले दुई आमाको कथाका रूपमा हेरिरहेको छु । एक त्यस्ती आमा जसले सबै कुरा गुमाइसकेकी छन् र जससँग कुनै पनि कुरा गुमाउन बाँकी छैन । अर्की आमा चाहिँ त्यस्ती छन् जससँग सबैथोक छ तर पनि केही पनि छैन । यहाँ मैले गंगामाया अधिकारी र सीता दाहाललाई इंगित गर्न खोजिरहेको छु । यसलाई पुरुषवादी दृष्टिकोणभन्दा पनि नारीवादी दृष्टिकोणबाटै हेर्दा अहिले नेपालको स्थितिलाई प्रतिनिधित्व गर्ने बिम्ब तिनै दुई नारी हुन् । 

तर हाम्रो विद्वद्वर्गले यसरी कहिले पनि मूल्यांकन गरेको छैन । त्यसैले पनि म परम्परागत शिक्षाभन्दा अघि बढेर फरक तथा समालोचनात्मक दृष्टिकोणबाट कुनै पनि कुरालाई बुझ्नुपर्छ भन्ने मान्यता राख्छु । 

युवाहरूलाई म जहिले पनि समालोचनात्मक हुन सुझाव दिन्छु । परिवारप्रति, समाजप्रति, राष्ट्रप्रति समालोचनात्मक दृष्टिकोण राख्नुपर्छ । तर त्यसो भन्दैमा पक्षपाती दृष्टिकोण राख्न भनेको हैन । तथ्य र तर्कमा टेकेर मात्र समालोचनात्मक हुने सुझाव दिएको हुँ । अनि मात्र समाज अगाडि बढ्न सक्छ । 

इतिहासमा जे जति प्रगति भएका छन्, ती सबै शक्तिको आधारमा भएका हैनन् बरू समालोचनात्मक सोचका आधारमा भएका हुन् । समालोचनात्मक सोचले क्रान्तिको बीजारोपण गरेको हुन्छ । समालोचनात्मक दृष्टिकोण नअपनाएको समाजले फड्को मार्न सक्दैन । त्यसैले साहित्य, शक्ति र राजनीतिको अन्तःसम्बन्धलाई जहिले पनि केलाउन सक्नुपर्छ । अनि माथि नै भनेजस्तो चित्र, शब्द र व्याख्यानको सम्बन्धलाई आँकलन गर्ने समालोचनात्मक सोच राख्नुपर्छ ।  

(विन्देश दहालसँगको कुराकानीमा आधारित)

salt training

कमेन्ट गर्नुहोस्