
धनगढी – कञ्चनपुरबाट बरामद गरिएको २३ किलो ६ सय ग्राम सुन ललितपुरको हरिहरभवनस्थित राजस्व अनुसन्धान विभागको मुख्यालयमै झिकाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको विभागले सुन प्रकरणको अनुसन्धान गर्नेछ ।
सुनसहित संलग्न व्यक्तिबारे अनुसन्धानको लागि प्रहरीले शुक्रवार विभागको क्षेत्रीय कार्यालय कोहलपुरमा पठाइएको थियो । तर सो प्रकरणबारे अनुसन्धान कोहलपुरमा नगरी शनिवार काठमाडौं झिकाइएको छ ।
‘ठूलो केस भएको हुनाले यसको अनुसन्धान विभागको मुख्यालयमै पठायौं । हामीले बुझ्ने काम मात्रै गर्यौं । सुनको पोको खोलेर पनि हेरेनौं,’ क्षेत्रीय अनुसन्धान प्रमुख विनोद कुमार दाहालले भने ।
क्षेत्रीय अनुसन्धान प्रमुख दाहालले सुन प्रकरणमा संलग्न प्रहरी जवान सुरज तिरुवा र उनका दाजु लक्ष्मण तिरुवाका साथै बरामद गरिएको सुन बुझिसकेको तत्काल अनुसन्धान शुरू हुने बताएका थिए । तर शनिवार विभागको क्षेत्रीय कार्यालयबाट मुख्यालयमा नै झिकाइएको हो ।
विभागका महानिर्देशक दीर्घराज मैनालीले सुरक्षाको कारण देखाउँदै मुख्यालयमा झिकाएको बताए । सुन र संलग्न भनिएका दाजुभाईलाई बुझ्ने काम भइसकेकाले अनुसन्धानको काम आइतवारदेखि शुरू गर्ने उनले लोकान्तरलाई बताए ।
‘सुनको परीक्षण सुनचाँदी व्यवसायी महासंघबाट हुन्छ । त्यो परीक्षणको प्रतिवेदनसहित बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकमा पठाउने कार्य हुन्छ,’ महानिर्देशक मैनालीले भने ।