चितवन- सर्वोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्जभित्र हुलाकी राजमार्ग नबनाउन आदेश दिएसँगै माडीवासी आक्रोशित भएका छन् ।
न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले निकुञ्जभित्र सडक निर्माणसम्बन्धी कुनै पनि काम नगर्न परमादेश जारी गरेको हो ।
हुलाकी राजमार्गको ठोरी–माडी– भरतपुर सडकले निकुञ्ज अतिक्रमण हुने भएकाले रोक्न माग गर्दै अधिवक्ता रामकृष्ण सिम्खडासमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाएर दायर गरेको सार्वजनिक सरोकारको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।
सर्वोच्चले युनेस्कोलगायत सरोकारवाला निकायहरूको परामर्श र सहमतिमा गरिएको वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म निकुञ्जभित्र पर्ने गरी सडक निर्माणसम्बन्धी कुनै कार्य नगर्न नगराउन आदेश दिएको हो ।निकुञ्जबाट सडक बनाउनु सम्पदाको अतिक्रमण मात्र नभई नेपालले अनुमोदन गरेको अन्तर्राष्ट्रिय कानून विपरीत हुने सर्वोच्चले आदेशमा उल्लेख गरेको छ ।
प्रस्तावित ठोरी–माडी–भरतपुर सडकले चितवन राष्ट्रिय निकुञ्जको जैविक एवं वातावरणीय क्षेत्रमा उल्लेखनीय रुपमा पार्ने प्रतिकूल प्रभावलाई दृष्गित गरी सम्भावित अतिक्रमणबाट निकुञ्जको सम्पदालाई जोगाउनु समस्त नेपालीको संवैधानिक एवं कानूनी दायित्व हुने देखिने सर्वोच्चको आदेशमा भनिएको छ ।
सर्वोच्च अदालतको फैसला जारी गरेपछि मााडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालसहित माडीका अगुवाहरुले आक्रोश व्यक्त गरेका छन् ।
माडी नगरपालिकाका मेयर ठाकुर ढकालले सर्वोच्च अदालतले आफ्नो मर्यादा विपरीत काम गरेको जानकारी दिँदै न्यायाधीशहरूले यथार्थ कुरा बुझ्न नसकेको बताए । मुद्दा हाल्ने र आदेश दिने दुवै पक्षबाट वस्तुस्थितिबारे राम्रोसँग अध्ययन हुन नसकेको मेयर ढकालको आरोप छ । माडीका जनताको चाहना प्रतिकूल हुने गरी, सडक निर्माणका लागि पूरा भएका कार्यप्रगतिको राम्रो अध्ययननै नगरी फैसला आएको भन्दै मेयर ढकालले आपत्ति जनाए ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आकाशे पुल बनाउने घोषणा गर्नुभएको थियो तर निकुञ्ज भित्रको बाटोनै बनाउन सर्वोच्चले रोक्यो अब के पुलको सपना, सपना नै हुन्छ ? भन्ने हाम्रो प्रश्नमा उनले आकाशे पुल बन्नु पर्नेमा आफ्नो पनि धारणा रहेको बताउँदै ढकालले आउँदो आर्थिक वर्ष देखि काम शुरू हुनेमा आफू ढुक्क भएको उल्लेख गरे ।
निकुञ्जको ऐन संशोधनसँगै आफूहरुको माग पूरा हुनेमा विश्वस्त भएको भन्दै उनले ४० हजार जनसंख्या भएको माडीलाई सरकारले उपेक्षा गर्न नहुने बताए । आफ्नो अनसनको कुरा स्मरण गर्दै ढकालले अहिले केही समयको लागि मात्र स्थगित गरेको तर आफूहरूको माग पूरा नभए अनसन बस्ने चेतावनी दिए ।
यस्तै माडीका समाजसेवी तथा युवा नेता ओमनाथ पाण्डेले निकुञ्ज भित्र हुलाकी मार्ग निर्माणका लागि ईआईए ( वातावरणीय प्रभाव मूल्यांकन) को काम सकेर ठेक्काको प्रक्रिया अघि बढेकाले आदेशको अर्थ नरहेको बताए । 'वातावरणमा प्रतिकूल प्रभाव पर्ने मान्यतामा आदेश आएको रहेछ, जबकी ईआईए भएर त्यसले सडक बनाउन प्रक्रिया शुरू भइसकेको छ, 'उनले भने, 'यो आदेशको अर्थ छैन ।' माडीकै अर्का युवा नेता विकास भुसालले राज्यको यस्तै रबैया भइराखे माडीवासी बञ्चरो लिएर निकुञ्जको रुख काट्न पनि जान सक्ने चेतावनी दिए ।
माडीका अर्का युवा नेता सन्तोष पनेरुले माडीवासीले उक्त आदेश खारेजीको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिए । पनेरूले अमेरिकाजस्ता विकसित देशहरूमा समेत विश्व सम्पदा सुचीमा परेका निकुञ्ज भित्र सडक बनाएका उदाहरण पेश गर्दै सर्वाेच्चले माडीको विकास रोक्ने उद्देश्यले आदेश जारी गरेकाले आन्दोलनको विकल्प नभएको प्रतिक्रिया दिएका छन् । यो कोही जनप्रतिनिधिलाई गाली गर्ने समय पनि नभएको भन्दै उनले एकपटक माडीवासी उठेर यो अभियानमा लाग्न आग्रह गरे ।
नेपाली कांग्रेस माडीका पुराना नेता सोभाखर चापागाईंले सर्वोच्चको फैसला माडीवासी जनताका लागि दु:खदायी रहेको प्रतिक्रिया दिए । 'यहाँका ९ वटा पुल शिलान्यासमा यस्तै अवरोध भइरहेको छ । अहिले आएर अदालतको आदेश पनि हामी माडीवासीलाई झन् पीडा थप्ने गरी आयो,' चापागाईंले भने, 'माडीका ४० हजार जनतालाई के उठीबास लाउन खोजिएको हो र ?' निुकञ्ज ऐन २०२९ लाई दुई तिहाई बहुमतको सरकारले यथाशीघ्र जनताको पक्षमा हुने गरी संशोधन गर्नुपर्ने चापागाईले बताए । नेपाल कम्युनिष्ट पार्टी माडीका नेता श्याम विष्टले अदालतको आदेशको नाममा विकासमा अवरोध सिर्जना गर्ने काम भएमा माडीवासी जनता आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताए ।
सर्वोच्चको आदेशले माडीवासी जनतालाई आक्रोशित र निराश बनाएको विष्टले बताए । माडीका जनता आफू पीडित भएर निकुञ्ज जोगाउने काममा लाग्न नसक्ने उनको भनाइ छ । 'निकुञ्जको संरक्षणको नाममा जनतालाई विकासबाट बन्चित गराउने काम स्वीकार्य छैन,' उनले भने ।
माडी नगरपालिका सदरमुकाम भरतपुरवाट ४० किलोमिटर दक्षिण-पश्चिममा पर्छ । चितवन राष्टिय निकुञ्चको करीब १२ किलोमिटर जंगल छिचोलेर माडी पुग्न सकिन्छ ।