३० जेठ २०८३, शनिबार

देशैभर मौसम बदली : काठमाडौंमा छिटफुट वर्षा

देशैभर मौसम बदली : काठमाडौंमा छिटफुट वर्षा

काठमाडौं- पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली हुनुका साथै मध्यपहाडी भू–भागका केही स्थानमा छिटफुट वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुको प्रभावले भारी वर्षाको सम्भावना नरहे पनि छिटफुट र मध्यमखालको वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् समिर श्रेष्ठले बताए ।

'अझै एक/दुई दिन मौसम पूर्णरुपमा खुल्ने छैन र घाम पनि खासै लाग्ने छैन,' श्रेष्ठले भने । काठमाडौं उपत्यकामा शनिवार हल्का वर्षा भएको छ । 

बुधबार बेलुका सुदूरपश्चिम भित्रिएको न्यून चापीय प्रणालीको प्रभावले बिहीवारदेखि नै पश्चिमी भेगको मौसम प्रभावित बनाएको छ । आज राति देशको पश्चिमी र मध्य भूभागमा आंशिक बदली रही मध्यपहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । 

त्यस्तै भोलि आइतवार देशको पूर्वी तथा मध्यपहाडी भू–भागमा आंशिक बदली हुनाका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । सोमबार पश्चिमी भू–भागलगायत पूर्वी तथा मध्यपहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं अधिकमत तापक्रम २१ दशमलव ७ डिग्री र न्यूनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्