०८ साउन २०८३, शुक्रबार

प्रदेश २ मा नेकपाभित्र किचलो : लेखा समिति सभापतिका बागी उम्मेदवारको समिति नै हेरफेर !

फागुन ५, २०७५
प्रदेश २ मा नेकपाभित्र किचलो  : लेखा समिति सभापतिका बागी उम्मेदवारको समिति नै हेरफेर !
फोटोमा रामकुमार यादव र शत्रुधन महतो

जनकपुरधाम - प्रदेश नम्बर दुईको प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपाभित्रको आन्तरिक कलह झन् बढ्दै गएको छ । 

संसदीय समितिअन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा आधिकारिक निर्णय विपरीत उम्मेदवारी मनोनयन दर्ता गराएका प्रदेश सांसद शत्रुघन महतोको समिति नै परिवर्तन गर्न पार्टीले प्रदेश सभा सचिवालयलाई पत्राचार गरेको छ ।

महतोलाई प्रदेश मामिला समितिमा र सार्वजनिक लेखा समितिमै रहेका अर्का सांसद रामकुमार यादवलाई विकास समितिमा पठाउने निणय गरेको छ । उनीहरूका ठाउँमा सांसदद्वय जगतारैन देवी साह र कुन्दन कुशवाहालाई सार्वजनिक लेखा समितिमा ल्याएको छ ।

नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले प्रदेश सभा फागुन ४ गते सचिवालयमा दर्ता गराएको पत्रमा ‘संसदीय समितिको नाम परिवर्तन सम्बन्धमा ती चार जनाको समिति परिवर्तन गरि दिन अनुरोध छ,’ उल्लेख गरिएको छ ।

‘पार्टीको लाइन विपरीत सांसद महतोले उम्मेदवारी दर्ता गरेकाले पार्टीले सजिलोका लागि समिति परिवर्तन गरेको हो,’ प्रमुख सचेतक विश्वकर्माले लोकान्तरसँग भने, ‘पार्टीले चाहेको बेला जुनसुकै समयमा पनि जुनसुकै सदस्यको पनि समिति परिवर्तन गर्न पाउँछ ।’

तर आफूहरूलाई जानकारी नै नदिएर समिति सदस्य हेरफेर गरेकोमा स्वीकार गर्न नसकिने शत्रुघन महतोले बताएका छन् । ‘लेखा समितिको उम्मेदवारी दर्ता सम्पन्न भएर चुनावी प्रक्रियासमेत अगाडि बढिसकेको बेला समिति हेरफेर गर्न मिल्दैन,’ सांसद महतोले लोकान्तरसँग भने, ‘संसद्को नियम कानूनले के भन्छ ? त्यस बारे त अब सभामुख सरोजकुमार यादवले नै निर्णय गर्नुहुन्छ ।’ 

महतोले भने, 'संसद्को नियमावली अनुसार हुने हुनाले पार्टीले हेरफेर गरे पनि हामी त्यति सहजै स्वीकार्दैनौं ।'

त्यस्तै अर्को सांसद रामकुमार यादवले पनि पार्टीले एकलौटी ढंगले गरेको उक्त निर्णय स्वीकार्य नहुने बताएका छन् । ‘सम्बन्धित मान्छेलाई कुनै जानकारी नै नदिई, सहमति नै नगरी एकलौटी ढंगले व्यक्तिले गरेको निर्णय मान्दैनौं,’ सांसद यादवले भने, ‘पार्टीको संसदीय दलको बैठकमा उक्त कुराको विरोध गर्नेछौं ।’

यता प्रदेशसभा सचिवालयले के गर्छ त ? भन्ने सवालमा प्रदेशसभा सचिवालयका उपसचिव रंजित यादवले भने, ‘सभामुख अहिले काठमाडौं जानु भएको छ । उहाँ फर्किए पछि नै त्यस विषयमा निर्णय गरिनेछ ।’ चुनावी प्रक्रिया शुरू भइसकेको अवस्थामा अब के गर्ने भन्ने विषयमा नियमावलीमा पनि प्रष्ट केही नभएको यादवले बताए ।

अहिले सदन फागुन १५ गतेसम्मका लागि स्थगित गरिएको छ । 

लेखा समितिमा नेकपाले आधिकारिक रुपमा भरत साहलाई सभापतिको आधिकारिक उम्मेदवार बनाएको थियो । तर, महतोले पनि पार्टी लाइन विपरीत उम्मेदवारी दर्ता गराएपछि नेकपा भित्रको अन्तरकलह छताछुल्ल भएको हो । त्यही क्रममा भरत साहले आफ्नै पार्टीका सांसद रामकुमार यादवको कीर्ते हस्ताक्षर गरेर समर्थक बनाएर उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । 

यादवले त्यसबारे औपचारिक रुपमै पनि संसद सचिवालयमा पत्र दर्ता गराएर जानकारी गराइसकेका छन् ।

नेपाली कांग्रेसले फागुन ४ गतेको प्रदेश सभाको बैठकमा उक्त कीर्ते हस्ताक्षरको विषयमा छानविन गर्न माग गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्