
काठमाडौँ -सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रष्टाचारमा सरकारले क्रान्तिकारी छलांग मारेको आरोप लगाएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारमा कैयौं रेकर्ड तोडेको आरोप लगाए ।
कांग्रेसले जारी गरेको विज्ञप्तिको पूर्णपाठ :
फाल्गुण २ गते नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुरा भएको छ । यो घडीमा सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने हाम्रो नीति जारी रहने सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छौं ।
सरकारको समग्र सफलता या असफलताको पूर्ण समिक्षा पाँच वर्षमा नै हुने तथ्यमा हामी प्रष्ट छौ । तर,आफ्नो समयको बीस प्रतिशत भाग पुरा गरिरहँदा यो अवधिमा सरकारले कस्तो सन्देश प्रवाह ग¥र्यो,के नवीन थालनी ग¥र्यो र बाँकी अवधिका बारेमा कति सकारात्मक र नकारात्मक सम्भावना विजारोपण ग¥र्यो,यो समिक्षा गर्न अनिवार्य जरुरी छ । अतः त्यही उद्देश्यमा आयोजित यो पत्रकार सम्मेलनमा सबै आदरणीय पत्रकार मित्रहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु ।
भनिन्छ लामो यात्राको प्रारम्भ पहिलो पाइलाबाट नै हुन्छ,त्यो पहिलो पाइलामै डग्मगाएर टेक्दा बाँकी यात्राका बारे चित्र स्पष्ट भै हाल्छ । तर सहज राजनैतिक वातावरण र दुई तिहाइको गणितका वावजुद एक वर्षको तीन सय पैसट्ठी सुनौला दिनलाई सरकारले व्यर्थमा व्यय गरेको छ । वर्ष दिनमा १२ पाइलामा आगामी दिनको सुन्दर संकेत सरकारले दिन सकेन ।
शान्ति,संविधान र निर्वाचन पछि इतिहासकै सबैभन्दा सहज र सुन्दर वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको छ । कम्युनिष्ट सरकारको एक वर्षको समग्र चित्र,चरित्र र प्रवृत्ति बारे हाम्रो टिप्पणी र समिक्षा सार्वजनिक गर्न चाहन्छौं ।
(क) विर्सजित विश्वशनियता ः
सरकारसंग नागरिकको मुल अपेक्षा शान्ति सुरक्षा,सुलभ बजार मुल्य र उ प्रतिको भरोसा र विश्वासको हुन्छ ।
यी तिनै सन्दर्भमा सरकार असफल भएको छ । अनेक पक्षको अनेक विश्वासलाई विर्सजित गर्नमा त यो एक वर्षमा सरकारले विशिष्ट श्रेणीको अंक हासिल गरेको छ ।
(१) मधेश मुद्दामा संविधान संशोधनको विश्वास खण्डीत
(२) डा. केसीसंगको सम्झौतामा तोडिएको विश्वास ः
(३) निर्मलालाई न्याय ः कुण्ठीत भएको विश्वास
(४) बुढी गण्डकीमा विश्वासघात र राष्ट्रघात
(५) कांग्रेसको कर्ममा श्रेयको दावी
(ख) सैद्धान्तिक विचित्रताको दोबाटो
जनताको मतबाट निर्वाचित भएको सरकार गम्भीर सैद्धान्तिक अलमलमा रहनु दुःखद मात्रै होइन नागरिक मतको अवहेलना,आफ्नै कार्यकर्ताको रगत–पसिनाको अवमूल्यन र देशका प्रतिको गम्भीर धोखाघडी समेत हो ।
(ग) लोकतान्त्रिक आवरण अधिनायकवादी आचरण
सैद्धान्तिक दस्तावेजको अमुर्तता त छ नै तर अभिव्यक्ति शैली,कार्य शैली र कैंयन कर्महरुले सरकारको नेतृत्व र सिंगो सरकारको अधिनायकवादी आचरणलाई निरन्तर प्रष्ट्याएका छन् ।
(१) अभिव्यक्ति शैली
(२) प्रेस स्वतन्त्रतामा अंकुश
प्रेस स्वतन्त्रतामा अंकुश लाग्ने फौजदारी संहिताको केही प्रावधान सच्याउने दिशामा कुनै पहल गरिएन । बरु यो वर्ष प्रेसलाई थप नियन्त्रीत र निरुत्साहित गर्ने अनेक उपक्रम दृश्यमा प्रकट भए । अभिव्यक्ति स्वतन्त्रतामा वन्देज लगाउने ढंगका प्रयन्तहरु जारी रहे र जारी छन् ।
(३) संघीयतालाईसंस्थागत गर्न बाँकी कार्यभार पुरा गर्ने कार्यमा निरन्तर अलमल र ढिलाई गरियो यो वर्ष । एकातर्फ प्रदेश नामाकरण र राजधानी टुंगो अझै सबै भइसकेको छैन भने अर्कोतर्फ प्रदेशहरुलाई पर्याप्त अधिकार,वजेट र कर्मचारी समायोजनको परिपक्व वन्दोवस्त भएको छैन ।
(४) संवैधानिक परिषदमै मिचियो संविधान
(५) संविधान बर्खीलापको व्यवहार
संसदको कारवाही संचालन गरिदा सम्भव भएसम्म सन्तुलनको सिद्धान्त र व्यवहार पालना हुन सकोस् भन्ने अभिप्रायका साथ संविधानमा प्रवन्ध गरिएको थियो संसदमा सभामुख र उपसभामुख फरक दलको हुनेछन् । धारा ९१ को उपधारा २ मा गरिएको सो व्यवस्था कार्यान्वयन नगरेर सत्तापक्षले जुन मनोवृत्ति प्रस्तुत गरेको छ त्यो लोकतान्त्रिक संस्कार अनुरुपको व्यवहार किमार्थ होइन ।
(६) वहुमत र विवेकको प्रश्न
माघ ११ मा प्रतिनिधिसभामा सरकार र सभामुखद्वारा प्रस्तुत व्यवहार अधिनायकवादी शैलीको ताजा नमुना थियो । शासन वहुमतले नै गर्ने हो,त्यसप्रति हाम्रो कुनै विमति होइन । तर मतदाताले वहुमतका बलमा विवेक कुल्चिएर अघि बढे हुन्छ भनेर मत दिएको किमार्थ होइन ।
प्रस्तुत छ वटा प्रतिनिधि उदाहरण प्रष्ट्याउँछन सरकार आवरणमा लोकतन्त्र र आचरणमा अधिनायकवाद बोकेर अघि बढ्न खोजेको छ । वर्ष दिनको चित्रले स्पष्ट गर्छ–लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनुनै लोकतान्त्रिक चरित्रको हुनु किमार्थ होइन ।
(घ) प्रधानमन्त्रीमा संकेत देखिएन शासकीय योग्यताको
(ङ) कुटनैतिक परिपक्वताको गरिबी !
मुलुकको अन्तर्राष्ट्रिय पहिचान,राष्ट्रिय स्वभिमान र समृद्धिका सन्दर्भमा कुटनैतिक विषय र सम्बन्धहरु अत्यन्तै महत्वपूर्ण हुन्छन् । तर भेनेजुयला प्रकरणमा आइपुग्दा सत्तापक्षले कुटनैतिक मामिलामा‘केटाकेटी आएर गुलेली खेलाए मट्याङ्ग्राको सत्यानाश’झै अपरिपक्वता प्रस्तुत ग¥र्यो । कुटनैतिक प्रश्नमा अलमल,द्विविधाग्रस्त टिप्पणी या जरुरी नै नभएको वक्तव्यवाजीले मुलुकको हित गर्दैन । हाम्रो परराष्ट्र नीतिको मूल आधार असंलग्नतामाथि माक्र्सवाद,माओवाद या चावेजवाद हावी हुने संकेत सर्वथा गलत र आपत्तिजनक थियो ।
(च) भ्रष्टाचार ः क्रान्तीकारी छलाङको वर्ष
सरकारले एक वर्ष पुरा गर्नै लाग्दा सम्माननीय राष्ट्रपतिद्वारा व्यक्त अभिव्यक्ति सरकारको एक वर्षे समिक्षाको संक्षिप्त निस्कर्षका रुपमा पर्याप्त छ । उहाँले भन्नुभयो‘भ्रष्टाचार संस्थागत ढंगले भइरहेको सुनेकी छु’।
एक वर्षको अनेक मध्येका केही प्रतिनिधि चित्रले प्रष्ट्याउछन् राष्ट्रपतिले किन त्यस्तो बोल्ने बाध्यात्मक स्थिति आइपुग्यो–
वाइड बडी जहाज खरिद गर्दा अर्वौको घोटाला गरिएको विवरण बाहिर आयो,छानवीन प्रक्रियालाई गम्भीर ढंगले सघाउनु पर्ने कर्तव्य सबैको हो । तर सरकारले जारी छानवीनको प्रक्रिया अवरुद्ध गर्ने ढंगले‘शाही आयोग’गठनको शैलीमा‘ढाकछोप आयोग’गठन ग¥र्यो । संसद देखि सडकसम्म नेपाली कांग्रेसले यो घोटालाका दोषीहरुलाई कार्वाही गर्न‘तथ्यको जगमा सत्यको खोजी गर्न’दबाब दिंदै आएको छ ।
(२) निजगढमा राष्ट्रिय गौरवको परियोजना निजगढ एयरपोर्ट बन्नैपर्छ ।
(३) बुढी गण्डकी परियोजनामा अर्वौ कमिशनको खेल,माथि उल्लेख भएको छ ।
(४)शक्तिको केन्द्रीकरण
यो वर्षमा प्रधानमन्त्री कार्यालयमा राजस्व अनुसन्धान,सम्पति सुद्धिकरण लगायत राज्यका अन्य महत्वपूर्ण अंगहरुलाई केन्द्रीकृत गरिएको छ । अति शक्तिले अति भ्रष्ट बनाउँछ भन्ने स्थापित र प्रमाणीत मान्यता नजरअन्दाज गरेर गरिएको यो केन्द्रीकरण संघीयताको मर्म विपरित त छ नै यसले भ्रष्टाचार नियन्त्रणलाई होइन भ्रष्टाचारको सुरक्षीत व्यवस्थापनलाई बल पु¥याउँदै छ ।
(५) मेलम्ची परियोजनाको भविष्य अन्यौलमा
नेपाली कांग्रेसका तत्कालीन सभापति एवं तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको परिकल्पना र नेपाली कांग्रेसको संकल्पको परियोजना मेलम्ची अन्तिम चरणमा पुगिसकेको थियो । तर वर्तमान सरकार बनेपछि यसको भविष्य अन्यौलमा परेको छ । घुस मागियो भनेर इटालियन कम्पनीले काम छोडेको छ र समय थप लाग्ने एवं लगानी बढ्ने स्थिति उत्पन्न भएको छ ।
(६)गाडी खरिदमा भ्रष्टाचार
प्रदेश पाँचमा एक दर्जन गाडी खरिद गर्दा बजार मूल्य भन्दा बढीको रकम निकासाको भ्रष्टाचार र त्यसमाथिको छानवीनमा अख्तियारलाई सहयोग गर्न गरिएको ढिलाईले पुष्टि गर्दै भ्रष्टाचारले सिंहदरवार देखि क्रमश प्रदेश दरवारतर्फ गति लिइरहेको छ ।
यसरी कम्युनिष्ट सरकारको एक वर्षमा भ्रष्टाचार तिव्र ढंगले फैलिएको,झ्याङ्गीएको र क्रान्तिकरी छलाङ्ग मारेर संस्थागत हुँदै गएको देखिन्छ ।
(छ) सार शुन्य शुसासन
(१) यो एक वर्षमा मुलुकले दुई तिहाईको कम्युनिष्ट सरकार निश्चयनै देख्न पायो तर देशलाई सुख,शान्ति,समृद्धितर्फ डो¥याउन आवश्यक शुसासन मुलुकमा विकसित हुन सकेन । बलियो सरकार भएका बेला मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने,लगानीका अवसर बढ्ने,बाह्य लगानीकर्ताहरु आकर्षित हुने,शान्ति सुरक्षा भरपर्दो ढंगले कायम भई लगानीकर्ताहरु लगानीका लागि ढुक्कले आउने पुर्वानुमान र आम अपेक्षा यो वर्ष दिनमा खण्डीत भएको छ ।
(२) कर्मचारी प्रशासनलाई उत्प्रेरणा कि तेजोवोध?
(३) सरकारले एक वर्षे समिक्षामा सर्वत्र शुसासन देखेको छ ।
प्रतिपक्षले सबै नराम्रो देख्यो भन्ने आरोप लाग्ला अतः सरकार या प्रतिपक्षको नजरबाट होइन अन्य दुई भिन्न नजरबाट वितेको वर्षलाई हेरौं–
(ज)‘समृद्धि’मिठो नारा मात्रै होइन भने वयलगाडामा बसेर चढिन्न सगरमाथा
वर्तमान प्रधानमन्त्रीले गणतन्त्रका लागि संघर्ष भइरहेको बेला वयलगाडाको एक प्रसंग राख्नु भएको थियो । आज उहाँको सरकारको गति,मति,प्रवृत्ति र एक वर्षको दुव्लो शैली हेर्दा भन्नैपर्ने स्थिति आएको छ–‘समृद्धि’मिठो नारा मात्रै होइन भने वयलगाडामा बसेर चढिन्न सगरमाथा । वितेको वर्षको समग्र आर्थिक चित्र मध्ये केवल सात वटा प्रतिनिधि तथ्यहरु हेरौं जसले हामीलाई सोच्न वाध्य तुल्याउँछ सहज राजनैतिक वातावरण र दुई तिहाइको सरकार भएर पनि देशले एउटा सिंगो वर्ष व्यर्थमै व्यतित गरेछ ।
१.व्यवस्थित अर्थतन्त्रको महत्वपूर्ण मानक राजश्वको आकार बढने र पुँजीगत खर्च समयमै प्रभावकारी रुपले हुने कोणमा निर्भर हुन्छ । तर बलियो सरकार भनिए पनि पुंजीगत खर्च माघ मध्यमा आइपुग्दा केवल २२.८७ प्रतिशत मात्रै छ । (फागुन ४ सम्मको सरकारी तथ्यांक) ।
२. विदेशी लगानी राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो कांग्रेस नेतृत्वको सरकारको पाँच महिनामा ११.१२ अर्व भित्रिएको थियो भने कम्युनिष्ट सरकार बनेपछि प्रथम पाँच महिनामा झण्डै पाँच अर्व घटेर केवल ६.७८ अर्व विदेशी लगानी भित्रिएको छ ।
३. बाह्य मुद्राको सञ्चीति कांग्रेस सरकारको प्रथम छ महिनामा १० खर्व ६७ अर्व थियो भने कम्युनिष्ट सरकारको प्रथम छ महिनामा झण्डै १० अर्व घटेर १० खर्व ५८ अर्व रहेको छ । एघार महिनाको आयात धान्ने अवस्थाबाट आठ महिना धान्ने स्थितिमा गिरेको छ ।
४.कांग्रेस नेतृत्वको सरकारको प्रथम छ महिनामा भन्दा व्यापार घाटा भण्डै दुई खर्वले बढेको छ कम्युनिष्ट सरकारको छ महिनामा । त्यसबेला ४.९३ खर्व थियो व्यापार घाटा अहिले ६.७८ खर्व पुगेको छ ।
५. सहज राजनैतिक वातावरण र दुई तिहाईको स्थिर सरकार भएको समयमा बजार मूल्य नियन्त्रीत हुनुपर्नेमा शुरुवाति छ महिनामा तुलानात्मक रुपले कांग्रेस सरकारको पालामा भन्दा एकातर्फ वजार भाउ वृद्धि भएको छ भने अर्कातर्फ तरकारी किसानहरुले बजार मुल्य उपयुक्त नपाएर बारीमै ट्याक्टर लगाएर तरकारी नष्ट गरेको पीडाका दृष्य र समाचार सार्वजनीक भएका छन् ।
६.शोधानान्तर घाटा चरम चुलीमा उक्लीएको छ । कांग्रेस सरकारको शुरुवाति पाँच महिनामा ९ अर्व रहेको शोधानान्तर घाटा वर्तमान सरकारको पाँच महिनामा ८५ अर्व नाघेको छ ।
७.अर्थतन्त्रको‘पल्स’मानिने शेयर बजार यो सरकार आएपछि क्रमश धाराशायी हुँदै गएको छ । स्थानीय चुनावको मुखमा नेप्से १७०० कटेको थियो । पछि १५२० मा रहेको नेप्से कम्युनिष्ट सरकार बनेपछि १३८०,११२८ हुँदै यो सरकारले एक वर्ष पुरा गरेको फागुन २ मा आइपुग्दा १११२ मा झरेको छ ।
यी तथ्यहरु ध्यानपुर्वक पढिसकेर सम्माननीय प्रधानमन्त्रीज्यूले छात्तीमा हात राखेर आँखा एकछिन बन्द गरेर पक्कै सोच्नु हुनेछ–सहज राजनैतिक वातावरण पाएर पनि के मैले वितेको एक वर्षमा देशको समृद्धिका लागि सुयोग्यता प्रस्तुत गर्न सकें त?प्रस्तुत तथ्य र तथ्यांकहरु प्रतिपक्षी पार्टीको कार्यालयमा उत्पादित होइनन् राज्यकै सम्बन्धित तहहरुबाट प्राप्त यथार्थ विवरण हुन् जसले सिधासिधी प्रष्ट्याउछन् सहज अवस्थाको कम्युनिष्ट सरकारले भन्दा प्रतिकुल अवस्थाको कांग्रेस सरकारले कार्य सम्पादन चुस्तसंग गरेको थियो ।
शैक्षिक क्षेत्रमा बितेको एक वर्ष
वैदेशिक रोजगारी सन्दर्भमा बितेको वर्ष
सामाजिक न्यायमा अन्यायको वर्ष
सरकारले एक वर्ष यसरी थुप्रै विश्वास भत्काएर,थुप्रै वेथीति विजारोपण गरेर व्यतित गरेको छ । अतः दोश्रो वर्ष आत्मालोचनाबाट प्रारम्भ गरेको भए त्यो बढी व्यवहारिक हुन्थ्यो । तर सम्माननीय प्रधानमन्त्रीले आफ्नो वार्षीक समिक्षा गरिरहदा प्रतिपक्षी दलको असान्दर्भिक आलोचना गास्नु उचित थिएन । प्रतिपक्षले सालीन ढंगले सहमती र विमति वितेको वर्ष प्रकट गरेको छ । म सोध्न चाहन्छु नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रतिपक्षले त्यस्तो के असहयोग ग¥र्यो वितेको वर्षमा सरकारलाई जसले गर्दा काम गर्न सकिएन?
यद्यपी एक वर्षमा जग हालिएको र अहिल्यै छाना नखोज्न विलकुलै सहि आग्रह प्रधानमन्त्रीले गर्नु भएको छ । हामी केवल यति सतर्क गराउन चाहन्छौ जग हाल्दै वालुवाको जग हालेपछि छाना खोजिरहनुको पनि के पो अर्थ हुन्छ र?
एक वर्षको समग्र गल्ती,कमजोरी सुधार गरेर अघि बढ्ने संकल्प सरकारले गरोस्,कुहिरोमा हराएको कागको नियतीबाट बाहिर निक्लीएर सही बाटोमा आओस् सरकार । आगामी वर्षमा देशलाई सही ढंगले नेतृत्व गर्न सफल हुन सकोस् एक वर्ष पुरा गरेको सरकारलाई यही शुभकामना दिन चाहन्छौं हामी ।