
काठमाडौं – नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन लगायतका माग समेटिएको २२ बुँदे ज्ञापनपत्र बुझाउन गएका राप्रपा अध्यक्ष कमल थापासँग प्रधानमन्त्री केपी शर्मा ओलीले 'वान टू वान' वार्ता गरेका छन् ।
ओली र थापाबीच झण्डै ४५ मिनेट गोप्य कुराकानी भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा उनीहरूबीच कुराकानी भएको थियो । ओली पहिलोपटक प्रधानमन्त्री रहेको समयमा कमल थापा परराष्ट्र मन्त्री थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान राप्रपा प्रतिनिधि मण्डलले आफूहरूको २२ बुँदे मागपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको हो । जनजीविकासँग गाँसिएका मागमा ओलीले समर्थन जनाएका थिए ।
श्रेष्ठका अनुसार ओलीले राप्रपा जस्तो राष्ट्रवादी पार्टी देशका लागि आवश्यक रहेको बताएका थिए ।
‘हामीहरूले फागुन १५ गतेदेखि गर्न लागेको मेची–महाकाली अभियानबारे जानकारी गरायौं, प्रधानमन्त्रीले कर्तव्य पूरा गर्नुस्, भन्नुभयो,’ श्रेष्ठले लोकान्तरसँग भने ।
ओलीले राप्रपा संसद्मा राष्ट्रिय पार्टीको रूपमा उपस्थित होस् भन्ने शदासयता रहेको समेत उल्लेख गरे । राप्रपाले २२ बुँदे माग आज केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र जिल्लामा सिडियोलाई बुझाएको छ ।
राप्रपाले फागुन १५ देखि मेची–महाकाली अभियानको शुरूवात गर्दैछ ।