
लन्डन- बेलायती विमानस्थलहरुको वरिपरी ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र (ड्रोन) उडाउन निषेध गरिएको बेलायत सरकारले जनाएको छ ।
अघिल्लो महिला बेलायतका अतिव्यस्त हिथ्रो र ग्याटविक विमानस्थल नजिक ड्रोन उडाइएपछि हवाई सेवा नराम्रोसँग प्रभावित भएको थियो ।
'ड्रोनको दुरुपयोगबाट बेलायती हवाई मैदानलाई सुरक्षित गर्न ड्रोन निषेध क्षेत्रलाई बढाउनु परेको हो, र यो नियम मार्च १३ बाट लागू हुनेछ,' यातायात मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले विद्युतीय सामग्री बेचबिखन गर्ने जेसोप्सलाई ड्रोन बिक्रीका बारेमा जनचेतनामूलक कार्य गर्न पनि आग्रह गरेको छ ।
मन्त्रालयले कुत्सित मनसाय राखी ड्रोनको प्रयोग गर्ने विरुद्ध कारबाही र पक्राउ गर्न प्रहरीलाई अख्तियारी दिनेगरी कानून निर्माण गर्न लागेको बताएको छ । साथै, प्रहरीले ड्रोनबाट सङ्कलन गर्ने विद्युतीय विवरणहरू नियन्त्रणमा लिन पाउने उक्त विधेयकमा व्यवस्था गरिएको छ ।
गत क्रिसमसका अवसरमा ग्याटविक विमानस्थलमा ड्रोनहरु देखिएपछि हजारौं यात्रु तीन दिनसम्म अलपत्र परेका थिए । गत महिना पनि हिथ्रो विमानस्थलबाट उड्ने विमानहरू एक घण्टाका लागि अवरुद्ध भएका थिए ।