
सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधवार १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्जबाट छिन्चु हुँदै सुर्खेत प्रवेश गर्ने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना नाकामा बुधवार बा४ख ४२१९ नम्बरको फोर्स गाडीलाई प्रहरीले जाँच गर्दा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २३ वर्षीय किरण घलेको साथबाट ३ ग्राम ४९० मिलग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरीका कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
त्यसैगरी, सोही नाकामा नेपालगञ्जबाट आएको भे१ज ७८९ नम्बरको जीप प्रहरीले जाँच गर्दा त्यसमा सवार वीरेन्द्रनगर–१ सुर्खेत निवासी १८ वर्षीया अमृता कार्कीको साथबाट छ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रवक्ता क्षेत्रीले बताए ।
उनका अनुसार कार्कीसहित त्यसमा संलग्न वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत निवासी २० वर्षीय सम्राट सापकोटा, वीनपा–९ लाटीकोइलीका २३ वर्षीय अर्जुन खत्री, सोही वडाका १९ वर्षीय कुमार महतारा, २० वर्षीय सागर सुनार र वडा नम्बर १ बस्ने १८ वर्षीय दीपा कँडेललाई पक्राउ गरिएको छ ।
प्रहरीले १० ग्राम ७० मिलिग्राम ब्राउनसुगर हालसम्मकै सबैभन्दा ठूलो परिमाण भएको बताएको छ । १ साताअघि ७ ग्राम २७० मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका ६ जनामाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।