
धनगढी- तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गतको बुधवारको खेलमा सीवाईसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गरेको छ ।
बुधवार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले दिएको १११ रनको लक्ष्य पछ्याएको काठमाडौं १८ ओभर ३ बलमा ६९ रनमै अलआउट हुन पुग्यो ।
काठमाडौंका लागि गौरव तमोरले २६ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्रसिंह कार्कीले समान ११/११ रन जोडे ।
अत्तरियालाई जिताउन सन्नी पटेलले ३ तथा भुवन कार्की र कमलसिंह ऐरीले समान दुई/दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो ।
पहिले ब्याटिङ गरेको अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाउँदा सन्नी पटेलले २८ रनको योगदान दिए । त्यस्तै ओपनर शुभेन्दु पाण्डेले १६ तथा जयकिशन कोल्सावालाले १३ रन जोडे ।
बलिङतर्फ काठमाडौंका एएम दबास र सूर्य तामाङले समान दुई/दुई तथा योगेन्द्रसिंह कार्की र रशिद खानले एक/एक विकेट लिए ।
जीतसँगै अत्तरिया फाइनलमा पुगेको छ ।