काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नयाँ शक्ति पार्टीका संयोज डा. बाबुराम भट्टराईको पोशाकको प्रसंशा गरेका छन् । डा. भट्टराईले पहिलोपटक लगाएको दौरासुरूवालको उनले प्रसंशा गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले दौरासुरूवाल लगाएको फोटो पोस्ट गर्दै उनले ‘वाह लभ्ड इट’ लेखेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई बिहीबार पहिलोपटक दौरासुरूवाल लगाएको भन्दै ट्वीटरमा नै फोटो अपलोड गरेका थिए ।
उनले लगाएको पोशाकलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी शुरु भएको छ । तर उनको आलोचनाभन्दा प्रसंशा बढी भएको छ । यसअघि प्रधानमन्त्री हुँदासमेत दौरासुरूवाल नलगाएका भट्टराईले कर्णाली पुगेर पहिलोपटक दौरासुरूवाल लगाएका हुन् ।
सधै कालो टोपी, कोट, पाइन्टमा देखिने डा. भट्टराई बिहीबार दौरासुरूवालसँगै नेपाली टोपीमा देखिए । उनले बिहीबार बिहान आफूले लगाएको पोशाकसहितका फोटोहरु ट्वीट गरेका थिए ।
विभिन्न मेला पर्वअनुसार जाति विशेषका पोशाक लगाउने गरे पनि हालसम्म उनले दौरासुरुवाल भने नलगाएको बताए। । भट्टराईले ‘देश अनुसारको भेष’ भन्दै दौरासुरुवाल र ढाका टोपीमा सजिएको फोटो ट्विट गरेका हुन् । उनले भनेका छन्– ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरासुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो !’
नयाँ शक्तिका संयोजक भट्टराईले यसअघि दौरासुरुवाल कुनै जातविशेषको पोशाक भएको भन्दै राष्ट्रिय पोशाक बनाउन नहुने बताउँदै आएका थिए । भट्टराई प्रधानमन्त्री हुँदा नै दौरासुरुवाललाई राष्ट्रिय पोसाकबाट हटाइएको थियो । तत्कालीन माओवादीका नेतारुले पनि दौरासुरुवाल लगाउने गरेका छैनन् । भट्टराई, प्रचण्डलगायतका नेताहरूले युद्धका क्रममा दशैँ र तिहारको टिका पनि बहिस्कार गरेका थिए ।