
सोमालियाको राजधानी मोगादिशुमा दुई सशस्त्र व्यक्तिले उप महान्यायाधिवक्ताको हत्या गरेका छन् ।
उपमहान्यायाधिवक्ताले सवारी साधन चलाइरहेका बेला गोली प्रहार भएको र लगत्तै उहाँको निधन भएको अधिकारीहरुले बुधबार बेलुका जानकारी दिएका छन् ।
एक जना प्रहरी अधिकृत हसन गेल्लेका अनुसार मोगादिशुको होडान जिल्लाको सिगाल भन्ने ठाउँमा उपमहान्यायाधिवक्ता मोहम्मद मुर्सलको हत्या भएको हो ।
“हतियारधारी व्यक्तिले उपमहान्यायाधिवक्तालाई गाडी रोक्न आदेश दियो, अनि गोली प्रहार गरेर हत्या गरे,” गेल्लेले पत्रकारहरुसँग भन्नुभयो ।
उहाँका अनुसार हत्या गरेपछि उनीहरुले मुर्सल र उहाँको गाडीलाई बेवारिसे अवस्थामा छाडेर भागेका थिए । घटना भएको केहीसमयपछि मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो ।
अलकायदा आवद्ध अल शबाब समूहले मुर्सलको हत्या गरेको जिम्मेबारी लिएको छ । हत्याको कारण भने नखुलाएको समाचारमा जनाइएको छ ।
उहाँको आमाको पनि हतियारधारीहरुले हत्या गरेका हुन् । सन् २०१७ को सेप्टेम्बर २७ तारिखका दिन उहाँकी आमा अनाब हासीको हत्या गरेका थिए ।