
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले फेसबूक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुन नआएमा के गर्ने ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै थापाले नेपालमा दर्ता हुन आउनुपर्छ भन्ने कुरामा आपत्ति नभए पनि दर्ता हुन नआएमा सरकारले गर्न चाहेको के हो ? भन्दै प्रश्न गरे ।
थापाले विधेयकको माध्यमबाट सरकारले जनताको मुख थुन्न खोजेको आरोप पनि लगाए । यसमा सरकारको नियत नै खराब देखिएको उनको आरोप छ ।
विधेयकले वाक स्वतन्त्रतामा नियन्त्रण गर्ने भन्दै उनले उक्त कुरा सदनको छलफलबाट मात्र सुध्रिने अवस्था नरहेको बताए ।
'कुरा दफाको होइन । कुरा धाराको पनि होइन । कुरा नियतको हो,' थापाले भने, 'सदनमा छलफल गरेर मात्र सच्चिँदैन । जनताको संघर्षबाट मात्र सच्चिन सक्छ ।'
उनले पूर्वराजा ज्ञानेन्द्रले जनताको वाक स्वतन्त्रता नियन्त्रण गर्न खोजेको प्रयासलाई अहिलेको सन्दर्भसँग जोडे ।
'राजा ज्ञानेन्द्रले जनताको मुख बन्द गर्न फोन बन्द गरेको सम्झन्छु । फोन बन्द भयो, जनताको मुख बन्द भएन,' उनले भने ।