
काठमाडौं – सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५ माथिको सैद्धान्तिक छलफलका क्रममा नेपाली कांग्रेसका सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकारको नियतमा प्रश्न गरे ।
गगनको भनाइ थियो– 'विधेयकका दफा र धारा त संशोधन हुन सक्ला, तर नियत कसरी सच्याउने ? कांग्रेस सांसद थापाले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन गर्न खोजेको आरोप लगाए ।
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले अहिले कांग्रेसले प्रयोग गर्ने गरेको जुम्ल्याहा शब्द (दुईतिहाइको दम्भ र अधिनायकवाद)सँग जोडेर हेर्न आवश्यक नभएको बताए ।
‘ज्ञानेन्द्र फाल्ने एउटा कम्पोनेन्ट नै आज यो ठाउँमा आइपुगेको हो । स्वतन्त्रताको स्वादका लागि नेपाली जनताले लडेको हो । कसैको बेपत्ताको योगदान र कसैको बेमतलवको योगदान संघीय लोकतान्त्रिक गणतन्त्र होइन । यो साझा सपना र संकल्पको ठोस उपलब्धि हो,’ मन्त्री बाँस्कोटाले गगनतर्फ लक्षित गर्दै भने, ‘त्यसैले अन्तै विषय छर्नेभन्दा माननीयज्यूले उठाउनुभएको प्रश्न हामीले राम्रो गर्नै खोज्दा भएको कमजोरी हटाउन सकिन्छ । तर, पूर्वाग्रहलाई त के भन्न सकिन्छ, के गर्न सकिन्छ ? सलाम छ हजुर !’
मन्त्री बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा कुनै बाधा नगर्ने स्पष्ट पारे ।
के भनेका थिए गगनले ?
थापाले विधेयकको माध्यमबाट सरकारले जनताको मुख थुन्न खोजेको आरोप लगाएका थिए । यसमा सरकारको नियत नै खराब देखिएको उनको आरोप थियो ।
विधेयकले वाक स्वतन्त्रतामा नियन्त्रण गर्ने भन्दै उनले उक्त कुरा सदनको छलफलबाट मात्र सुध्रिने अवस्था नरहेको बताए ।
'कुरा दफाको होइन । कुरा धाराको पनि होइन । कुरा नियतको हो,' थापाले भने, 'सदनमा छलफल गरेर मात्र सच्चिँदैन । जनताको संघर्षबाट मात्र सच्चिन सक्छ ।'
उनले पूर्वराजा ज्ञानेन्द्रले जनताको वाक स्वतन्त्रता नियन्त्रण गर्न खोजेको प्रयासलाई अहिलेको सन्दर्भसँग जोडे ।
'राजा ज्ञानेन्द्रले जनताको मुख बन्द गर्न फोन बन्द गरेको सम्झन्छु । फोन बन्द भयो, जनताको मुख बन्द भएन,' उनले भने ।