२३ असार २०८३, मंगलबार
सफलताको कथा

बुटवलमा उदाएका उद्यमी, संघर्षपछि कक्षपतिलाई सफलता

फागुन ११, २०७५
बुटवलमा उदाएका उद्यमी, संघर्षपछि कक्षपतिलाई सफलता

बुटवल – मानिसले सफलता प्राप्त गर्नका लागि अथक मेहनत, लगनशिलता र धैयता आवश्यक पर्छ । यी ३ कुरामा अडिग रहन सके कुनै पनि व्यक्ति एक दिन सफल भएरै छाड्छ । त्यहीँ मध्येका हुन् बुटवल एक युवा निर्माण व्यवसायी जविन कक्षपति । 

उनको संघर्षले रूपन्देहीमा निर्माण व्यवसाय स्थापित गर्न ठूलो योगदान छ । गुल्मी बलेटक्सारमा निम्न वर्गीय परिवारमा जन्मिएका कक्षपति एसएलसी उत्तीर्ण गरी आइए पढ्न २०४९ सालमा बुटवल झरे ।

घरको आर्थिक अवस्था अन्यन्त कमजोर । जेनतेन उनले घरको खर्चले आइए उत्तीर्ण गरे । त्यसपछि उनी स्नातक (बीए) भर्ना त भए । तर आर्थिक अभावले उनले पढाइ अगाडि बढाउन सकेनन् । 

उनी जागिरका लागि बुटवलका विभिन्न ठाउँहरूमा भौतारिए । उनले मनले सोचेजस्तो काम भेटेनन् । केही समयपछि उनलाई भिनाजु नवराज श्रेष्ठले निर्माण क्षेत्रको ‘सुपरभाइजर’को रूपमा साइड हेर्ने गरी काम लगाइदिए । उनले गाउँगाउँ (गुल्मी, पाल्पा, अर्घाखाँची) गएर विभिन्न साइड इन्चार्ज भएर ४ वर्ष काम गरे । ४ वर्ष काम गर्दा उनले धेरै कुरा सिके पनि ।

उनलाई मनमा लाग्यो अब आफैं केही गर्नुपर्छ भन्ने । २०५३ सालमा निर्माण व्यवसाय इजाजतपत्र लिएर भगवती कन्ट्रक्सन बुटवलमा स्थापना गरे । त्यसपछि शुरू गरे निर्माण क्षेत्रका ठेक्का लिने र विकास निर्माणको काम गर्न । उनले २०५४ सालमा बुटवलस्थित तत्कालीन राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय मर्मत गर्न ४ लाख रूपैयाँको ठेक्का सम्झौता गरे । 

उनले सो बेला निर्धारित मितिमै भवन मर्मत गरी बैंकलाई हस्तान्तरण गरे । उनले हालसम्म ५ सयभन्दा बढी योजना ठेक्का लिएर काम सम्पन्न गरी आयोजनालाई हस्तान्तरण गरिसकेका छन् । ‘शुरूशुरुमा यो क्षेत्रमा ठूलो चुनौती थियो । मानिसहरू विश्वास गर्न गाह्रो थियो । अहिले संघर्षले गर्दा यहाँसम्म आइपुगियो,’ उनी भन्छन्, ‘म खाली खुट्टा बुटवल झरे । म ठूलो संघर्ष र मेहनतले एउटा सफल निर्माण व्यवसायी बनेको छु ।’

नेपालको उद्यमशिलता भने शुरूवाती अवस्थामै छ । एकथरी मानिस धेरैपटक आफू उद्यमी बन्ने सपना त देख्छन् । तर रोजगारी पाएपछि उद्यमी बन्ने सपना त्याग्दै जाने उनको बुझाइ छ । 

उनले अहिले १ सिजनमा झण्डै ३–४ करोड रूपैयाँका योजनामा निर्माणको ठेक्का लिन्छन् । उनीसँग अहिले जेसिभी, रोलर, पिच गर्ने मेसिन आफ्नै छन् । उनी बुटवलस्थित अम्रपाली कटेज एण्ड रेस्टुरेन्टका पनि सञ्चालक हुन् । उनी टिप्परहरूमा पनि ठूलै लगानी गर्न सफल भएका छन् । 

सरकारले निर्माण व्यवसायीलाई क, ख, ग, घ गरी ४ वर्गमा वर्गीकरण गरेको छ । उनी ‘घ’ वर्गका साना–साना आयोजनाहरू (२ करोड रूपैयाँसम्म) निर्माण गर्नेमा पर्छन् । ६० लाखदेखि २ करोड रूपैयाँसम्म योजनाहरू साना अन्तर्गत पर्छन् ।

उनी निर्माण व्यवसायी संघ बुटवल शाखाको अध्यक्ष हुँदै अहिले प्रदेश सदस्य छन् । शून्यबाट संघर्ष शुरू गरेका उनको १० करोड रुपैयाँका मालिक भएका छन् । उनको बुटवल–८ सुख्खानगरमा आफ्नै ३ तले घर र कार छ ।

उनका १ छोरा, १ छोरी र पत्नी छन् । पत्नी निशा श्रेष्ठ स्वास्थ्य क्षेत्रमा अनमीमा कार्यरत छिन् । छोराछोरी निजी विद्यालयमा पढ्छन् । ठेक्का लिएका आयोजनामा समयमै सम्पन्न गर्ने गरी उनी खटिन्छन् । उनी भन्छन्, ‘निर्माण क्षेत्रलाई अझै पनि राम्रो नजरले हेरिँदैन । ठेकेदार भनिन्छ । यसको परिवर्तन आवश्यक छ ।’

पछिल्लो समय निर्माण क्षेत्रमा पनि अस्वस्थ प्रतिष्पर्धा रहेको कक्षपतिको भनाइ छ । जसले गर्दा विकास निर्माणका काम गुणस्तरहीत हुन थालेको छन् । उनी भन्छन्, ‘विगतका वर्षहरूमा अहिलेजस्तो ठेकेदारहरूबीच प्रतिष्पर्धा थिएन । अहिले हुने टेन्डरमा निर्माण गर्न नपुग्ने मूल्यमा पनि निर्माण व्यवसायीले टेण्डर हाल्दा सडक, बाटो, पुलपुलेसाहरू कमजोर भएका छन् । जुन निर्माण भएको लामो समय टिक्दैनन् ।’

व्यवसाय शुरू गर्नुअघि नै आफ्नो सेवा वा उत्पादन लक्षित उपभोक्ता पहिचान गर्न सकेमा सफल भइने कक्षपतिको बुझाइ छ । 

उनी विदेश नभई नेपालमै केही उद्यम गर्न युवालाई सुझाव दिन्छन् । ‘मेहनत र लगनशील भएर देशमै केही गरे ठूलो सम्भावना छ । यहीँमा रमाउनुपर्छ । नेपालमा धेरै सम्भावना छ । युवाहरूलाई विदेश होइन, नेपालमा केही गर्ने बानीको विकास गराउन आवश्यक छ,’ कक्षपतिले भने ।

salt training

कमेन्ट गर्नुहोस्