
काठमाडौं– संघीय सरकारको स्थायी प्रशासन कमान्ड गर्ने मुख्य कानून नै संघीयता विरोध हुने देखिएपछि सरकारले प्रस्तावित विधेयकका प्रावधान सच्याउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा बनाएको संघीय निजामती सेवा विधेयकमा संघीयता विरोधी प्रावधान देखिएपछि सच्याउन लागिएको हो ।
सरकारले संसदमा दर्ता गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफल क्रममा छ । छलफल क्रममा सांसदहरुले समेत सो विधेयकमा व्यवस्था गरिएका कतिपय प्रावधान संघीयता विरोध भएको भन्दै हटाउन माग गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्तालयका अनुसार सांदको माग र चौतर्फी विरोध भएपछि प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मन्त्रालयका सचिव तथा स्थानीय तहका कार्यकारी अधिकृतसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न लागिएको हो ।, राजधानी दैनिकमा खबर छ ।
नख्खु बिस्फोटका पीडितलाई राहत दिने सरकारको आश्वासन
सरकारले ललितपुर नख्खुस्थित एनसेल कार्यालयमा बम बिस्फोटका मृतक परिवारलाई राहत र घाइतेको उपचार गर्ने आश्वासन दिएको छ । गृहमन्त्री रामबहादुर थापाले शनिबार बिहान मेडिसिटि अस्पतालमा पुगेर घाइते तथा मृतकका परिवारलाई भेटी घाइतेको उपचार सरकारले गर्ने र मृतकका परिवारलाई राहत दिइने आश्वासन दिएका हुन् ।
बम बिस्फोटबाट घाइते भएका सिंहप्रसाद गुरुङको उपचारका क्रममा निधन भएको थियो । सिंगापुरका रिटायर्ड लाहुरे ४९ बर्षीय गुरुङकी छोरी आइतबार अष्ट्रेलीयाबाट आउने र शव बुझ्ने सहमती भएको ललितपुर प्रहरी परिसरका बरिष्ठ प्रहरी उपरीक्षक रविन्द्र धानुकले जानकारी दिए ।
हिंसात्मक गतिविधि गर्नेसँग वार्ता गर्न कांग्रेसको सुझाव
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले हिंसात्मक गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले वार्ता गरी समस्या समाधान गर्न सरकारलाई प्रतिपक्षको सहयोग रहने बताए ।
गोलीबाट समस्या समाधान नहुने भन्दै उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्नुपर्नेमा जोड दिए । विगतका घटनाबाट पाठ सिक्नुपर्ने उनको भनाइ छ ।
एनसेल विस्फोटका शङ्कास्पद १६ पक्राउ
मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
“कसले विस्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा अनुसन्धान चलिरहेको छ, अनुसन्धानपछि मात्रै यकिन हुन्छ, अहिले नै यसै भन्न सकिन्न”, प्रवक्ता सुवेदीले भने । अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराएर क्षति पु¥याएको थियो ।
ललितपुरको नख्खुस्थित टावरमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् । उनले ललितपुरको नख्खुबाहेक अन्य जिल्लामा भने आगजनी मात्रै भएको जानकारी दिए । यस्तै शङ्कास्पद गतिविधिलाई समेत प्रहरीले निगरानी थालेको छ ।
२ हजार तिर्न नसक्दा साहुकहाँ थन्कियो नागरिकता
६५ वर्षीया सिवरती सदा (मुसहर)का श्रीमान् हमिनीको नागरिकता वर्षौदेखि साहुको सन्दुकमा थुनिएको छ । सिवरतीले प्रमाण अभावमा आफ्नो नागरिकता बनाउन सुरक्षा भत्तालगायत राज्यका सेवा सुविधाबाट बञ्चित छिन् ।
उनको छोरा मुनेश्वरले रामअशिष यादव कहाँ बुवाको नागरिकताको बन्धकी राखेर २ हजार ऋण लिएका थिए । तर, उनले पैसा फिर्ता गर्न सकेनन् । नागरिकता फर्किएन । ‘साहु महाजन’को ताकेता र परिवारको दबाब झेल्न नसकेर मुनेश्वरले गाउँ छाडे ।
धनुषा लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडामा ४४ मुसहर परिवारको बसोबास छ । वरिपरि पक्की भवन ठडिएका छन् । मुसहर समुदायलाई भने वषौँदेखि रोग, भोक, र शोकले सताएको छ । त्यसमध्ये पनि विपन्न छ सिरवती परिवार । सम्पत्तिका नाममा भएको नागरिकता पनि बन्धकीमा राख्नुर्पयो । नागरिकता नहुँदा सिवरतीजस्ता वृद्धा सरकारी सुविधाबाट वञ्चित छन् ।
‘नागरिकतै नै है त वृद्धा पिल्सिन कतसँ भेटत’, मैथिलीमा उनले भनिन् । यसको अर्थ ‘नागरिकता नै छैन भने वृद्धा पेन्सन कहाँबाट भेट्छ ?’ हो । गाउँघरमा ठेट भाषामा भत्तालाई ‘पिल्सिन’ भन्छन् । मुनेश्वरले भारतको पञ्जाव गई पैसा कमाएर बुवाको नागरिकता साहुबाट फर्काउने वाचा आमासँग गरेका थिए । ‘छोरो ऋण लिएर पञ्जाव गयो, कमाउन सकेन, रित्तै फर्कियो’, उनले भनिन्, ‘महाजनको कर्जा चुक्ता भएन, नागरिकता फर्किएन ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
दुर्घटनामा दुईको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा शनिबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखराबाट सुनौली जाँदै गरेको ग १ ख ४७८० नं को यात्रुवाहक बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ३९ प ९५३८ नं को मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुवामा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा नगरपालिका–१४ बस्ने २१ वर्षीय माधव दराई र मोटरसाइकलमा सवार सोही ठाउँका १६ वर्षीय सुरज परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।
भैँसीमा भ्यागुते रोग, सत्र भैँसी मरे
दाङमा भैँसीमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगका कारण दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरको खरदरियाका १७ वटा भैँसी मरेका छन् । गाउँपालिकाका उपाध्यक्ष धनपति यादवका अनुसार भँैसी, पाडापाडी १७ र दुईवटा गाई मरेका छन् ।
त्यहाँका भैँसीमा र्याल छोड्ने, घाँटी सुन्निने एवं श्वासप्रश्वास बन्द भएर मर्ने गरेको गाउँपालिकाका पशुसेवा शाखा प्रमुख अनन्त रेग्मीले बताए । एक हप्तादेखि भ्यागुते रोगले गर्दा भैँसी मरे पनि किसानले स्वास्थ्य शाखालाई जानकारी नगराउँदा रोग झनै फैलिएको प्रमुख रेग्मीको भनाइ छ ।
उक्त रोग नियन्त्रण गर्नका लागि प्राविधिक टोलीसमेत खटिएको भन्दै छिट्टै नियन्त्रणमा आउने प्रमुख रेग्मीले बताए । उनका अनुसार मौसम परिवर्तनसँगै भैँसी तथा गाईमा यस्तो रोग देखापर्छ । आफूले पालेका भैंसीहरु मर्न थालेपछि किसान भने चिन्तित बनेका छन् ।
डीपीएल क्रिकेटको उपाधि अत्तरियालाई
सिवाईसी अत्तरीयाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । दिपेन्द्रसिंह ऐरी नेतृत्वको सीवाईसी अत्तरियाले शनिबार शरद भेषावकर नेतृत्वको महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि चुमेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा आफ्ना विदेशी खेलाडी सन्नी पट्ठेलको उत्कृष्ठ प्रदर्शनसँगै अत्तरियाले १ सय २४ रनको विजयी लक्ष्य १ बल बाँकी छँदा ७ विकेट खर्चेर पार गर्यो । त्यसअघि टस जितेर पहिलो ब्याटिङ्ग गरेको शरद भेषावकर नेतृत्वको महेन्द्रनगर युनाईटेडले पुरा ओभर खेल्दै १ सय २३ रनको स्कोर बनाउन सक्यो । सिवाईसी अत्तरीया पहिलोपटक डिपीएल क्रिकेटको फाइनलमा पुगेको थियो । जितसँगै सिवाईसी अत्तरीयाले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता महेन्द्रनगरले १२ लाखमा चित्त बुझाएको छ ।