
काठमाडौं– संसदीय सुनुवाइ समितिको बैठक आइतवार बस्दै छ । बैठकमा मुस्लिम आयोगको अध्यक्षमा सिफारिस समिममिया अन्सारीको शैक्षिक प्रमाणपत्र, नागरिकता र पार्टी आवद्धताबारे छलफल हुने छ ।
संवैधानिक परिषद, काठमाडौं जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगले सम्बन्धित विषयमा छानबिन तथा अनुसन्धान गरी पठाएका पत्रबारे छलफल हुन लागेको हो । बैठक सिंहदरबारस्थित काननू न्याय तथा मानवअधिकार समितिको हलमा विहान ११ बजे बस्दै छ । अन्सारीका बारेमा आएका उजुरीका आधारमा समितिले अनुसन्धान गरेर आवश्यक निर्णय लिने छ ।
त्यसैगरी, आजको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोग अध्यक्षमा सिफारिस भएका डा शान्तराज सुवेदीको नाम अनुमोदित गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ ।
संवैधानिक अंगका अध्यक्ष सिफारिस गर्ने संवैधानिक परिषद् बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा निर्णय लिइएको भन्दै नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गर्दै आइरहेको छ ।