विराटनगर- वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगर १ मा रहेको परोपकार घाटमा अन्त्यष्टि भएको छ । गएराति २ बजे निधन भएका पोखरेलको परोपकार घाटमा अन्त्यष्टी गरिएको हो । उनको अत्यष्टिमा एक मात्र छोरा मुनाल पोखरेलले दागबत्ती दिएका थिए ।
अन्त्यष्टी गर्ने क्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपालको झण्डा ओढाएर पोखरेलले नेपाली भाषामा पुर्याएको योगदानको चर्चा गर्दै श्रद्धाञ्जलि दिएका थिए । मन्त्री घिमिरेले भाषशास्त्री पोखरेलको निधनले नेपालको भाषिक आन्दोलनमै अपुरणीय क्षति पुगेको बताए । उनले भने, ‘यत्तिको क्षमता भएका प्रतिभा राज्यमा छन् कि छैनन् भन्ने खोजिको विषय हो, उहाँको देहावशानले राष्ट्रलाई क्षति पुगेको छ ।’
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनले राज्यलाई नै ठूलो क्षति पुगेकोले उनको सम्मान महानगरपालिकाले मंगलवार सार्वजनिक बिदा दिने घोषणा गरे । उनले भने, ‘मेरो यो पूर्वघोषित निर्णय हो, भोलि बोर्ड बैठक बोलाएर शोक प्रस्ताव पारित गर्दै पर्सी महानगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गर्दछु ।’
प्राज्ञ दधिराज सुवेदीले नेपाली भाषा र साहित्यमा त्यो बेलाको सोध खोज र अनुसन्धानमा पोखरेलको योगदान कसैले पनि गर्न नसकेको बताए । उनले नेपाली भाषा र साहित्यमा एउटा पाना पल्टिएको व्याख्या गरे ।
प्रा.डा. टंक न्यौपानेले भाषाको श्रीवृद्धिका लागि भएको योगदानमा पोखरेलको जतिको योगदान अरुले अहिलेसम्म गर्न नसकेको सुनाए ।
एक महिनाअघि देखि थलिएका मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेर मुटुको चाल बन्द भएको उनका छोरा मुनाल पोखरेलले बताए । ८६ वर्षीय प्राध्यापक पोखरेललाई भारतको सिक्किमस्थित गान्टोकमा छोरीको घर गएको बेलामा मस्तिष्कघात भएको थियो ।
गान्टोकबाट काठमाडौं लगि नर्भिक अस्पतालमा उपचार भएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि उनलाई विराटनगर ल्याएर स्पार्क अस्पतालमा उपचार गराइरहेकोमा एक्कासी स्वास्थ्य बिग्रिएपछि गत शनिवार श्री अस्पतालमा उपचारपछि केही सहज भएपछि घर लगिएको थियो । शनिवार साँझसम्म आएका व्यक्तिसँग राम्रै बोलीचाली गरेका पोखरेलको गएराति २ बजे विराटनगरको कलेज रोडस्थित आफ्नै घरमा निधन भएको
नेपाली भाषा साहित्यमा पोखरेलको योगदान
बालकृष्ण पोखरेलको जन्म वि.सं. १९९० भाद्र कृष्णाष्टमीमा भएको हो। बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्ण छायाँदेवीका सुपुत्रका रूपमा चिसापानीगढी, मकवानपुरमा भएको हो । उनी रूपावासी, वसन्त, वत्सल, ईसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिलो, हिमालपाने बराल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा चिनिन्छन् ।
उनी कलकत्ता विश्वविद्यालयबाट ऐतिहासिक भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी वि.सं. २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न रहेका थिए । २०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ क्याम्पसमा र स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गर्ने पोखरेलले २०४६ मा अवकाश लिएर स्वतन्त्र रूपमा अध्ययन तथा लेखन गरेको पाइन्छ ।
उनी २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य रहे, उनी आजीवन सदस्य थिए । सो समयमा उनले वृहत् नेपाली शब्दकोशको सम्पादनमा गहनतम योगदान पुर्याएका छन् । उनले नेपाली–अंग्रेजी–अनुवाद नेपाली शब्दकोष निकालेका थिए । पोखरेल अनेक भाषिक तथा साहित्यिक संस्थाहरूमा आबद्ध थिए । उनले ५ सय वर्ष पुस्तक निकालेर ऐतिहासिक रुपमा आफूलाई भाषामा चिनाएको प्राज्ञ सुवेदीले सुनाए । उनले लेखेको खस जातिको इतिहासले पनि उनलाई एउटा स्थान दिएको बताइन्छ । प्राज्ञ सुवेदीले भने, 'बालकृष्ण पोखरेलले जीवनका कालखण्डमा ३ पटक जन्म लिए । एउटा शब्दकोष निकाल्दा, अर्को खसभाषाको इतिहासको पुस्तक र तेश्रो भनेको पाँच सय वर्ष पुस्तक निकाल्दा समेतलाई हामीले लिएका छौं ।'