काठमाडौं– देशका अधिकांश भागमा तीन दिनसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार, मङ्गलबार र बुधबार हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी, मुलुकको उच्च हिमाली भूभागहरूमा हल्कादेखि मध्यम खालको हिमपातको समेत सम्भावना रहेको छ ।
पश्चिमी न्यून चापीय मौसम प्रणाली फेरि नेपाल प्रवेश गरिसकेकाले वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताए । महाशाखाका अनुसार, मङ्गलबार मुलुकको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ भने बाँकी भूभागमा आंशिकदेखि सामान्य बदलिको सम्भावना छ ।
त्यसैगरी, मुलुकको पश्चिमी भूभागका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, मुलुकको उच्च हिमाली भूभागहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, मङ्गलबार राति मुलुकभरि सामान्य देखी पूर्ण बदलीको सम्भावना रहेको तथा मुलुकका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी क्षेत्रको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।