२३ असार २०८३, मंगलबार

यातायात मन्त्रीकै घरअगाडि यस्तो विजोग, सर्वसाधारणलाई सास्ती [भिडियो सहित]

फागुन १३, २०७५
यातायात मन्त्रीकै घरअगाडि यस्तो विजोग, सर्वसाधारणलाई सास्ती [भिडियो सहित]

काठमाडौं –ललितपुरको एकान्तकुनाबाट भैँसेपाटीतर्फ लाग्दा नख्खु खोला पुल तरेपछि उकालो बाटो आउँछ । उकालोमा केही अघि बढ्दा बाँयातर्फ राष्ट्रिय झण्डा फर्फराइरहेको एउटा आलिशान बंगला देख्न सकिन्छ ।

उक्त बंगला नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको निवास हो । निवास जति आलिशान छ, त्यसको थोरै पनि प्रभाव अगाडिको सडकमा देख्न सकिन्न ।

सडक र यातायात नै हेर्ने विभागीय मन्त्रीको घर अगाडिको सडक देख्दा यो कुनै भीआईपी एरिया हो जस्तो नै लाग्दैन ।

सडकमा पिच उप्किएर खाल्डाखुल्डी परेको लामो समय भइसक्यो । साना गाडीलाई त अगाडि बढ्नै मुस्किल हुने गरी खाल्डो परेको छ । बस, ट्रकजस्ता ठूला सवारी पनि पल्निबाट धन्नधन्न जोगिएर अघि बढ्छन् ।

एउटा न एउटा सवारी साधन दुर्घटनामा नपरेको दिन नै हुँदैन ।

यसको मर्मतमा न मन्त्रीको ध्यान गएको छ, न त मन्त्रालय मातहतका निकायको नै । सर्वसाधारण निकै कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।

ढल फुटेर सडकमा बग्दा हिँड्न झनै अप्ठ्यारो परिरहेको छ । दुई पाङ्ग्रे सवारी साधनहरू त दिनहुँजसो चिप्लिन्छन् ।

धूलो हटाउने भाषण, आफैं धूलोको कारण !

मन्त्री महासेठले विभिन्न ठाउँमा पुगेर भाषण गरेका छन्, ‘सडकको धूलो हटाउँछौं । राजधानीका सडकमा अब धूलो रहँदैन ।’ तर उनको निवासलाई घेर्न पर्खाल लगाउनका लागि निर्माण सामग्री सडक किनारामा थुपारेको महिनौं भइसक्यो, न काम सकिएको छ, न त्यहाँबाट निर्माण सामग्री नै हटेको छ ।

पानी पर्दा बालुवा बगेर सडकमा तलसम्म आइपुग्छ र घाम लागेपछि धूलो बनेर उड्न थाल्छ । आफ्नै कारणले यस क्षेत्र भएर यात्रा गर्ने सर्वसाधारण र स्थानीय बासिन्दा धूलोको कारण बन्नु परिरहँदा पनि मन्त्री महासेठ चुपचाप छन् ।

मन्त्रीका छिमेकीहरू भन्छन्, ‘सडक त बनाएनन्, बनाएनन्, निर्माण सामग्री यसरी थुपारेर धूलो त नबनाए हुन्थ्यो नि !’

हेर्नुहोस्, भिडियो :

थप तस्वीर :

salt training

कमेन्ट गर्नुहोस्