
काठमाडौं — भेनेजुएलाको सेनाबाट भागेर शनिवार कोलम्बिया पुगेका सैनिकहरू निकोलस मडुरोको सरकारले आफ्नो परिवारको सुरक्षामा आँच पु–याउने डर पालिरहेका छन् ।
बीबीसीकी ओर्ला गुएरिनसँग कुरा गर्दै एक भगौडा सैनिकले राष्ट्रपति मडुरोप्रति बफादार बलहरूले आफ्नो परिवारविरुद्ध कारवाही गर्न सक्ने चिन्ता व्यक्त गरे ।
‘तर भाग्ने निर्णय नै मेरा लागि सर्वोत्तम भएको मलाई लाग्छ,’ उनले थपे ।
एकसयभन्दा बढी सैनिक भागेको बताइएको छ । शनिवार सहायता सामग्री पु–याउने क्रममा भएका घातक झडपका क्रममा उनीहरूमध्ये धेरैजसो भागेका हुन् ।
राष्ट्रपति मडुरोले छिमेकी मुलुक ब्राजिल र कोलम्बियासँग जोडिएका सीमाका सडक र पुल बन्द गर्न सैनिक पठाएका छन् । अमेरिकाको प्रायोजनमा ती सीमा हुँदै खानेकुरा र औषधि आपूर्ति भेनेजुएलामा प्रवेश गर्नुपर्ने थियो ।
विभिन्न सीमानाकामा भेनेजुएलाका सुरक्षाबलले स्वयंसेवक र विरोधकर्ताहरूमाथि अश्रूग्यास प्रहार गरेका थिए ।
बीबीसीले पुरुष र महिला दुवै भगौडा सैनिकलाई हतियार त्यागेर आफ्नो पोस्ट छोडेको एक दिनपछि भेटेको थियो । उनीहरूले एक क्याथोलिक चर्चमा शरण पाएका छन् र त्यसबाहिर सुरक्षाकर्मीको उपस्थिति छ ।
भेनेजुएला सैनिकले आफ्नै जनतामाथि अश्रूग्यास र रबरका गोली प्रहार गरेको हिंस्रक दृश्य देखेका उनीहरूमध्ये केही स्तब्ध थिए ।
भगौडाहरूले आफ्नो देशमा परिवर्तन आवश्यक भएकाले र आफ्ना बालबालिकालाई खानेकुरा आवश्यक भागेको बताए । आफ्नो प्रियजनसँग फोनवार्ता गरेपछि एक जवान अधिकृत खुलमखुला रोए ।
बीबीसीले भेटेका धेरैजसो सैनिक सामान्य जवान हुन् । सेनाका उच्च अधिकारीहरू भ्रष्टाचारमार्फत अझै पनि राष्ट्रपति मडुरोसँग जोडिएको र मडुरो सत्तामा रहिरहनका लागि संघर्ष गर्ने बताए ।
तर सामान्य सैन्य जवानहरूले मडुरोमाथि विश्वास गर्न छोडेको र विपक्षी नेता हुआन गुआइडोलाई पत्याउन थालेको उनीहरूले बताए ।
बीबीसीबाट