
गलकोट – बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित कृष्णगण्डकी क्याम्पसको शैक्षिक विकासका लागि सञ्चालन गरिएको ‘प्रथम बलेवा महोत्सव’मा १ करोड २९ लाख संकलन भएको छ ।
स्थानीय नारायणस्थान सामाजिक प्रतिष्ठानको आयोजनामा कृष्णगण्डकी क्याम्पसको शैक्षिक विकासको लक्ष्यसहित आयोजना गरिएको उक्त महोत्सव विविध कार्यक्रमसहित आइतबार सकिएको छ ।
बलेवा क्षेत्रको प्रचारप्रसार गरी क्याम्पसको शैक्षिक उन्नयनका लागि १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यभन्दा बढी रकम संकलन भएको महोत्सव मूल आयोजक समितिका संयोजक भरत पौडेलले बताए । महोत्सवको अन्तिम दिन आइतवार ५० लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।
सबैभन्दा बढी रकम बलेवाका स्व. धनबहादुर घर्ती क्षत्रीको परिवारले २५ लाख ५१ हजार रुपैयाँ, स्व. चन्द्रकुमारी घर्ती क्षत्रीका छोरा–बुहारी गंगाबहादुर घर्ती क्षत्री र डम्मरकुमारी घर्ती क्षेत्रीले २५ लाख ५१ हजार रुपैयाँ तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष एवं ग्लोबल आईएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले १५ लाख रुपैयाँ सहयोग प्रदान गरेको महोत्सव मूल आयोजक समितिका सचिव नारायण श्रेष्ठले जानकारी दिए ।
महोत्सवको शुरूआतमै राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडलले आफ्ना बुबा भिमनाथ पौडेलकोे स्मृतिमा १० लाख रुपैयाँ सहयोग गरेका थिए । बलेवा क्षेत्रका शिक्षाप्रेमी, विभिन्न व्यक्ति तथा संस्थाबाट क्याम्पसको शैक्षिक विकासका लागि प्राप्त भएको रकमले अक्षयकोषको स्थापना गर्दा क्याम्पस सञ्चालनमा सहज हुने क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार जिसीले बताए । ‘अक्षयकोषबाट प्राप्त वार्षिक ब्याजले क्याम्पस चलाउँछौं,’ उनले भने ।