२७ असार २०८३, शनिबार

हत्याका अभियुक्तबाट खुल्यो पोल, २३ लाख घूस प्रकरणमा तानिए प्रहरी निरीक्षक

फागुन १३, २०७५
हत्याका अभियुक्तबाट खुल्यो पोल, २३ लाख घूस प्रकरणमा तानिए प्रहरी निरीक्षक

काठमाडौं – कर्तव्य ज्यान मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग २३ लाख घूस लिएको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश भण्डारी महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा तानिएका छन् ।

हत्या अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धानका क्रममा रहेका अभियुक्तहरूले इन्स्पेक्टर भण्डारीले घूस लिएको बयान दिएपछि उनलाई अनुसन्धानका लागि मेट्रोमा तानिएको हो ।

प्रहरी स्रोतका अनुसार भण्डारीले मुद्दा शाखामा आफ्नो मान्छे रहेको र मुद्दा मिलाइदिने भन्दै २३ लाख घूस लिएका थिए । तर उनले मुद्दा मिलाउन सकेनन्, प्रहरी अनुसन्धान अघि बढ्यो र अभियुक्तहरू समातिए । त्यसपछि इन्सपेक्टर भण्डारीले घूस लिएको पोल खुलेको हो ।

प्रहरीका अनुसार उनले मध्यस्तकर्ता कमला भण्डारीमार्फत् १० लाख रुपैयाँको चेक र १३ लाख नगद पटक–पटक गरी लिएका थिए ।

इन्सपेक्टर भण्डारीलाई अनुसन्धानका लागि मेट्रोमा तानिएको महानगरीय प्रहरी प्रवक्ता वरिष्ट प्रहरी उपरीक्षक (एसएसपी) पूजा सिंहले जानकारी दिइन् ।

‘उहाँ बिदामा हुनुहुँदो रहेछ । घूसको उजुरी परेपछि हामीले अनुसन्धानका लागि मेट्रोमा बोलाएका छौं,’ एसएसपी सिंहले लोकान्तरसँग भनिन् ।

उक्त घूस प्रकरण गुपचुप राखेको अभियोगमा महाराजगञ्ज वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) फणिन्द्र प्रसाईं पनि तानिन सक्ने सम्भावना रहेको प्रहरी स्रोतले बतायो ।

के थियो केस ?

गत पुस १ गते टोखामा २३ वर्षीय अजिता मल्ल शाहीको हत्या भयो । कोठा खोज्ने बहानामा आएका व्यक्तिहरूले घाँटी थिचेर उनको हत्या गरेका थिए ।

सोही दिन घटनास्थलमा पुगेको प्रहरीले तत्काल अनुसन्धान अघि बढायो । प्रारम्भिक अनुसन्धानका क्रममा खुल्यो, हत्यामा उनकै सौता विष्णुमाया मल्ल संलग्न थिइन् ।

२४ वर्षीय विष्णुमायाले आफूमाथि सौता बन्न आएको रिसमा पति राजधानीबाहिर रहेको मौका छोपी भाइबहिनीको सहयोगमा अजिताको हत्या गरेको पाइयो ।

प्रहरीले विष्णुमायासहित गण्डिपराज मल्ल, भगवती मल्ल र रिता केसीलाई नियन्त्रणमा लियो । उनीहरूले अपराध स्वीकार पनि गरे ।

बयानकै क्रममा धूस प्रकरणको पर्दा समेत खुलेको हो ।

हत्या अभियोगमा पक्राउ परेका चारैजना पुर्पक्षका लागि थुनामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्