०६ असार २०८३, शनिबार

घोडाघोडीमा कानून मिचेर स्थायी संरचना निर्माण हुँदै, सरोकारवाला बेखबर

फागुन १५, २०७५
घोडाघोडीमा कानून मिचेर स्थायी संरचना निर्माण हुँदै, सरोकारवाला बेखबर

कैलाली (सुखड) – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल तथा सिमसार क्षेत्र परिसरमा मापदण्ड विपरीत स्थायी संरचना निर्माण कार्य भइरहेको छ ।

औसत ४ मिटरभन्दा बढी गहिराइ र २ हजार ७ सय ६२ हेक्टर क्षेत्रफलमा फैलिएको सो सिमसार क्षेत्र सन् २००३ अगस्त १३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको थियो ।

जुन जैविक, सांस्कृतिक, ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । जसको जैविक विविधतामा असर पर्न नदिन वातावरणीय प्रभाव मूल्यांकन गरी कुनै पनि संरचना निर्माण गुर्नपर्ने कानूनी प्रावधान रहेको छ । तर विना वातावरणीय प्रभाव मूल्यांकन गरी पक्की भवन निर्माणको कार्य बढाइएको पाइएको छ ।

विराट सनातन धर्म संस्कृति संरक्षण सम्वद्र्धन प्रतिष्ठानले करीब १ महिनादेखि घोडाघोडी मन्दिर छेउमै वातावरणीय प्रभाव मूल्यांकन नै नगरी पक्की आवास गृह निर्माणको कार्य धमाधम अगाडि बढाएको छ । 

पक्की भवन निर्माणको कार्य अगाडि बढाएको प्रतिष्ठानले न त वातावरणीय प्रभाव मूल्यांकन गराएको छ, न त भवनको नक्सा पास नै । अन्धाधुन्ध ६ कोठे पक्की भवन निर्माणको कार्य बढाएको पाइएको छ ।

प्रतिष्ठानको अध्यक्ष गोविन्दराज जोशीले बटुक (विद्यार्थी) हरूको लागि बनाइएको पुरानो काठको आश्रम भत्केपछि त्यही ठाउँमा पक्की भवन निर्माण गरिरहेको बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि घोडाघोडी नगरपालिकाको मेयरलाई जानकारी गराएर निर्माण शुरू गरेको उनले जिकिर गरे ।

‘ठण्डीको मौसममा घर भत्केपछि बटुकहरूको विचल्ली भयो । सबै पक्षलाई जानकारी गरायौं । हाल सबैलाई जानकारी गराएर घर बनाइरहेका छौं,’ उनले भने ।

संरचना निर्माणको कार्य धमाधम जारी रहेपनि सम्बन्धित निकाय भने बेखबर रहेको पाइएको छ । घोडाघोडी नगरपालिका तथा डिभिजन वन कार्यालय पहलमानपुर बेखबर रहेको पाइएको हो ।

डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत भरत श्रेष्ठले पक्की भवन निर्माणबारे आफूलाई जानकारी नभएको बताए । के, कसरी निर्माण कार्य भइरहेको छ भन्नेबारे बुझ्ने वन अधिकृत श्रेष्ठले लोकान्तरलाई प्रतिक्रिया दिए ।

घोडाघोडी नगरपालिकाको बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डका उपाध्यक्ष दयाराम चौधरीले प्रतिष्ठानले नगरपालिकासँग समन्वय नै नगरी एकतर्फी ढंगले निर्माण कार्य बढाएको बताए । सिमसार क्षेत्रको जैविक विविधतामा नकारात्मक असर पर्न नदिन जुनसुकै निकायले सम्बन्धित निकायबाट अनुमति लिएर तथा वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्रै संरचना निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

घोडाघोडी सिमसारको विकासको लागि गुरूयोजना निर्माणको प्रक्रियामा रहेको बताउँदै उनले मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउने पनि बताए । तर सिमसार क्षेत्रमा संरचना बनाउनै नपाइने भन्ने नरहेको बोर्डका उपाध्यक्ष चौधरीले बताए ।

सुदूरपश्चिम प्रदेशकै मुख्य पर्यटन गन्तव्य समेत रहेको घोडाघोडी सिमसार जलचर, चराचुरुंगीलगायत जीवजन्तुको आश्रयस्थल एवं प्रमुख प्रजनन् केन्द्रको रुपमा समेत प्रख्यात छ । सिमसार क्षेत्रमा मानवीय गतिविधि बढेपछि त्यसको अस्तित्व नै संकटमा पर्न थालेको संरक्षणकर्मीहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्