१० साउन २०८३, आइतबार

विप्लवको चेतावनी- हाम्रा नेता-कार्यकर्ता रिहा नगरे हातमा दही जमाएर बस्दैनौं

फागुन १५, २०७५
विप्लवको चेतावनी- हाम्रा नेता-कार्यकर्ता रिहा नगरे हातमा दही जमाएर बस्दैनौं

काठमाडौं - नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारले गिरफ्तार गरेका आफ्ना नेता-कार्यकर्तालाई विनाशर्त रिहा नगरे सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ । 

बुधवार विप्लवको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा सरकारले गिरफ्तार गरेका आफ्ना पार्टीका नेता-कार्यकर्तालाई विना शर्त रिहा नगरे सरकारको दमनकारी क्रियाकलापविरुद्ध सशक्त आन्दोलन गर्ने घोषणा गरिएको छ ।

'एनसेलमाथि भएको कारवाही प्रकरणको नाममा यो सामाजिक फाँसीवादी सरकारले देशैभरिबाट हाम्रो पार्टी, जनवर्गीय संगठनका नेता-कार्यकर्ताहरुलाई भटाभट गिरफ्तार गरेर सार्वजनिक अपराध जस्ता उनीहरूकै कानून र संविधान विपरीत मुद्दा लगाएर मानसिक तथा शारीरिक यातना दिइरहेको छ,' विज्ञप्तिमा उल्लेख छ, 'यो सरकारका यस्ता दमनकारी क्रियाकलापको हाम्रो पार्टी घोर भर्त्सना गर्नुका साथै सबै नेता-कार्यकर्ताको बिनासर्त रिहाइको माग गर्दछ ।'

पार्टीले गिरफ्तार गरिएका अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्द, बच्ची यादव, युवा नेता सूर्य भुजेल, मानबहादुर तिरुवा, महावीर लगायतका विद्यार्थी नेताहरूलाई तुरुन्त विना शर्त रिहा नगरे सशक्त आन्दोलन गर्न बाध्य हुने बताएको छ ।

बुधवार नै लोकान्तरसँग कुरा गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा जबस ब्यूरो प्रमुख मोहनबहादुर कार्कीले एनसेलमाथिको कारवाही पार्टीको नीतिअन्तर्गत नै रहेको बताएका छन् ।

'हामीले सांकेतिक रूपमा गरेको कारवाहीलाई युद्धको घोषणा गरेको जस्तो रूपमा प्रोपोगाण्डा चलाइएको छ,' कार्कीले भने, 'योजना कार्यान्वयन गर्दा सामान्य कमजोरी हुन सक्छ, त्यसलाई लिएर सरकार दमनमा उत्रियो भने हामी पनि हातमा दही जमाएर बस्दैनौं ।'

salt training

कमेन्ट गर्नुहोस्