
काठमाडौं – १२ वर्षको फरकमा ताप्लेजुङ जिल्लामा भएका दुर्घटनामा बहालवाला मन्त्रीसहित देशका विशिष्ट व्यक्तिको निधन भएको छ ।
विक्रम संवत् २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको दुर्घटनामा तत्कालीन वन तथा भूसरंक्षण राज्यमन्त्री गोपाल राईसहित देशका विशिष्ट व्यक्तिको निधन भएको थियो ।
२०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा बाक्लो हुस्सुका कारण घुन्साको फले भीरमा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको थियो ।
घुन्सामा भएको दुर्घटनामा भूगर्भविद् तथा योजनाकार डा. हर्क गुरुङसहित दर्जन बढीको मृत्यु भएको थियो । १२ वर्षपछि २०७५ फागुन १५ गते ताप्लेजुङमै भएको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
देशका आशलाग्दा युवा नेता अधिकारीसहित देशका प्रख्यात पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको निधन भयो । नागरिक उड्ड्यन प्राधिकरणका वीरेन्द्रकुमार श्रेष्ठको निधन भयो ।
डा. हर्क गुरुङको स्मृति सभाको अवसरमा गत असोज ७ गते काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले भनेका थिए, ‘डा. गुरुङका अध्ययन अनुसन्धान समाजलाई नै उथलपुथल पार्ने हुन्थे । सामाजिक, भूराजनीतिक पाटोलाई बुझेको व्यक्ति थिए, अध्ययनको बहुआयामिक र ज्ञानको गहिराइले राष्ट्रको योजनावद्ध विकासमा पारेको प्रभावले नै आज उहाँ हर्क गुरुङको पहिचानका साथ अविस्मरणीय बन्नुभएको छ ।
२०६३ असोजमा भएको दुर्घटनामा तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री राई, राईकी पत्नी मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, २ सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो ।