२५ जेठ २०८३, सोमबार

कमल थापाको पार्टीसँग विद्रोह गरी जयन्त चन्द समूह राप्रपा संयुक्तमा प्रवेश

फागुन १५, २०७५
कमल थापाको पार्टीसँग विद्रोह गरी जयन्त चन्द समूह राप्रपा संयुक्तमा प्रवेश

काठमाडौँ– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा) बाट विद्रोह गरी पूर्वमन्त्री जयन्त चन्दसहित एक समूह राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) मा आज समाहित भएको छ । 

 आज आयोजित राप्रपा एकीकरण अभियान कार्यक्रममा चन्दको नेतृत्वमा १४ जना केन्द्रीय सदस्य तथा तीन जिल्ला अध्यक्षका साथै अन्य १०० कार्यकर्ता राप्रपा (संयुक्त)मा समाहित भएको छ । पार्टीका अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जवराले उक्त समूहलाई स्वागत गरेका थिए । 

उक्त कार्यक्रममा अध्यक्ष डा लोहनीले मुलुकमा राजनीतिक शक्तिको समन्वय र सहकार्य हुन नसक्दा वैदेशिक हस्तक्षेप बढ्दै गएका कारण अहिले वैचारिक रुपमा नजीक रहेका दल तथा राष्ट्रवादी शक्तिबीच एकताको खाँचो औँल्याए । उनले देशको विकास र समृद्धिका लागि उत्पादन क्षेत्रमा लगानी वृद्धि गरी युवा शक्तिलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्ने नीति तथा कार्यक्रम आफ्नो पार्टीसँग रहेको बताए । 
अर्का अध्यक्ष राणाले बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा षडयन्त्रपूर्ण तरिकाले राष्ट्रको पहिचान मेटाई धर्म निरपेक्ष कायम गरिएकाले आफ्नो पार्टी सबै धर्मावलम्बीको अस्तित्वलाई सम्मान गर्दै देशलाई पुनः हिन्दू राष्ट्र कायम गर्ने कार्यदिशाका साथ अगाडि बढेको जानकारी गराए । 

नेता चन्दले राष्ट्र निर्माणको बाधक तत्वका रुपमा अहिले भ्रष्टाचार व्याप्त भएकाले सुशासन कायम गर्नुपर्नेमा जोड दिँदै भ्रष्टाचारमुक्त समाज निर्माणका लागि पार्टीले अवलम्बन गरेका कार्यक्रमलाई देशभर फैलाउने प्रतिबद्धता व्यक्त गरे । गत शनिबार उक्त समूहले राप्रपा परित्याग गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्