
काठमाडौं– पूर्वमन्त्री तथा नेकपा नेताा शेरबहादुर तामाङले बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसँगको अन्तिम भेटबारे स्मरण गरेका छन् ।
फागुन १४ को संसद बैठकमा आफ्नो अधिकारीसँग भेट भएको र सो क्रममा सामान्य भलाकुसारी हुनुका साथै स्वास्थ्य चेकजाँच पनि एकसाथ गराएकाे तामाङले स्मरण गरेका छन् ।
रवीन्द्रसँगको त्यो अन्तिम भेटबारे तामाङले फेसबुकमार्फत गरेको स्मरण जस्ताको तस्तैः
क. रवीन्द्रसँगको मार्मिक तर अन्तिम प्रसंग !
फागुण १४ गते संसद्को बैठक ११ बजे बोलाइएको थियो । बौध्द चावहिलको जाम छिचोल्दै जाँदा अलि ढिलो संसद भवन पुगियो । माननीयज्यूहरुको उपस्थिति हस्ताक्षर लबिमा म उपस्थिति जनाउँदै थिएँ । उहाँ अलिपर देखा पर्नुभयो । अरुबेला झैं परैबाट भलाकुसारी चल्यो । त्यतिकैमा वहाँ नजिकै आइपुग्नुभयो । हात मिलाउने औपचारिकता पुरा गरेपछि उहाँ पनि उपस्थिति हस्ताक्षर गर्न अगाडि बढ्नुभयो । त्यतिकैमा अर्को लबीबाट सिन्धुलीका संसद गणेश पहाडी पनि उपस्थिति जनाएर हामी छेउमा आउनुभयो । लबि कै छेउमा सांसदहरुको सामान्य स्वास्थ चेकजाँच गर्ने कोठा छ । म प्रेसर चेक गर्न त्यतातिर जान खोजें, उहाँहरु पनि म सँगै अगाडी बढ्नुभयो । हामी तिनै जना स्वास्थ रुममा प्रवेश गरियो । तिनै जनाले प्रेसर चेक गर्यौं । मेरो नर्मल देखियो । उहाँको अलि बढी देखियो । त्यहाँ रहेको स्वास्थकर्मी र हामीले उहाँको प्रेसर अली बढी भएको कुरा भन्यौं । हामीले तौल पनि हेर्यौं । मेरो ७० केजी उहाँको ७२ केजी । मभन्दा तपाईंको उचाईलाई तौल अलि बढी भएको कुरा भयो । ७० केजीसम्म झार्छु, मरेपनी मरोस त्योभन्दा कम त झर्दिन भन्नुभयो । उहाँले सुगरपनी चेक गर्नुभयो, स्वस्थ्यकर्मीले ८६ रहेको बताउनुभयो । त्यसपछि स्वास्थ कै प्रसंगमा भारतको मुम्बईमा भएको नागरिक उड्ड्यन मन्त्रीहरुको बैठकको प्रसंग उठाउनुभयो । सो कार्यक्रममा ७८ (?) देशका मन्त्रीहरुको जमघट भएको र एउटा शेसन मन्त्रीहरू मात्र बसेर औपचारिक, अनौपचारिक छलफल भएको र त्यसमा सबै मन्त्रीहरुले आ-आफ्नो पारिवारिक लगायतको बिषयमा अनौपचारिक छलफल भएको र सो क्रममा उहाँको उमेरको बारेमा अडकल गर्दा धेरैले ४० को हाराहारीमा होला भन्ने अडकल गरेको र एक जनाले त ३५ भनेर पनि भनेको कुरा सुनाउनुभयो । त्यसपछि उहाँले भन्नुभयो मैले ढांटिन मेरो उमेर ५० वर्ष भनें । हो उहाँले वहाँको उमेर ५० रहेको सत्य बताउनु भएछ । आज हामी माझ उहाँ हुनुहुन्न । क. रविन्द्र प्रति भावपूर्ण श्रद्धाञ्जली ।
उहाँ किन हो १४ गते मसंग भेट्दा मन्त्री हुनु अघिको रविन्द्र कै भावमा प्रस्तुत भैरहनु भएको थियो । उहि चाल, उहि हाउभाउ, उहि फरासिलो रविन्द्र ।