
काठमाडौं- नेपाल विद्युत प्राधिकरण र अपि पावर कम्पनी लि. बीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ ।
सो सम्झौतामा ने.वि.प्रा का तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको दार्चुलामा कम्पनीले निर्माण गर्न लागेको यो अपर चमेलिया जलविद्युत आयोजना तेस्रो हो । यसअघि कम्पनीले ८.५ मे.वा. क्षमताको नौगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत ३ वर्षदेखि निरन्तर रुपमा राष्ट्रिय ग्रीड प्रणाली विद्युत प्रवाह गर्दै आएको छ ।
कम्पनीले निर्माण गरिरहेको दोस्रो आयोजना अपर नौगाड जलविद्युत आयोजना (८.०)को निर्माण पूरा गरी आगामी चैत मसान्तभित्र विद्युत उत्पादन शुरू हुनेछ । कम्पनीले सम्पन्न गरेका आयोजनाहरू नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया–बलाँच १३२ के.भि.डवल सर्किट ट्रान्समिसन लाइनमा जडान गरिनेछ ।
यो अपर चमेलिया जलविद्युत आयोजनाबाट (४० मेगावाट) वार्षिक २६.४१ करोड यूनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युतमध्ये ३३ प्रतिशत हिउँदका ६ महिनाहरूमा र बाँकी ६७ प्रतिशत वर्षात महिनाहरूमा उत्पादन हुनेछ ।
कम्पनीले उत्पादन अनुमति प्राप्त गरी २०७६ सालबाट निर्माण शुरू गरी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
अहिले देशमा निर्माणाधीन अधिकांश जलविद्युत आयोजनाहरू ट्रान्समिशन लाइनको अभावले समस्याग्रस्त बन्दै गएका छन् । सुदुरपश्चिममा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ के.भि. डबल सर्किट ट्रान्समिसन लाइनमा जडान हुने भएकोले विद्युत प्रवाहको कुनै समस्या नरहेको कम्पनीका कार्यकारी सञ्चालक श्री सञ्जीव न्यौपानेले बताए । यो आयोजनाको निर्माण पश्चात् सुदूरपश्चिम प्रदेशान विद्युत आपूर्ति बढ्न गई भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।
यो आयोजनामा नेपाल विद्युत प्राधिकरणद्वारा निर्माण गरिएको बहुचर्चित चमेलिया जलविद्युत आयोजनाको विद्युत गृहभन्दा १५ किलोमिटर माथि अवस्थित छ । दुर्गम जिल्लामा निर्माण हुने यस आयोजनाको लागतप्रति मेगावाट १८ करोडको हिसाबले आयोजनाको कुल लागत ७२० करोड लाग्ने अनुमान छ ।